चितवन । चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ । लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस वर्ष ग्रीनल्याण्ड पब्लिक स्कुलले प्राप्त गरेको हो ।
विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । उक्त कार्यक्रममा आगामी वर्ष २०२६ का लागि प्रोस्पेरिटी नेपाल अवार्ड २.० समेत घोषणा गरिएको छ ।
चितवनको प्रमुख शैक्षिक संस्था ग्रीनल्याण्ड पब्लिक स्कूलले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले आधुनिक शिक्षण पद्धति, उत्कृष्ट शैक्षिक वातावरण, र विविध अतिरिक्त कृयाकलापहरूको माध्यमबाट विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउँदै आएको छ । विद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको शैक्षिक, सामाजिक, र भावनात्मक विकासलाई प्रवद्र्धन गर्नु रहेको प्राचार्य कार्कीले बताउनुभयो । विद्यालयले ‘सर्वांगीण विकासका लागि शिक्षा’ भन्ने नारालाई आत्मसात गर्दै आएको छ ।
ग्रीनल्याण्ड पब्लिक स्कूलले कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयले राष्ट्रिय पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त शिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थीको समग्र विकासलाई ध्यानमा राख्दै ग्रीनल्याण्ड पब्लिक स्कूलले खेलकुद, सांस्कृतिक कार्यक्रम, वादविवाद, विज्ञान मेला र अन्य विभिन्न क्लबहरू मार्फत विद्यार्थीहरूको प्रतिभा विकासमा विद्यालयले विशेष ध्यान दिएको छ । अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद मैदान, र सांस्कृतिक कार्यक्रमहरूको लागि विशेष हल उपलब्ध गराइएको छ ।
यसैगरी, ग्रीनल्याण्ड स्कुलसँगै ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ गैँडाकोटमा रहेको गैँडाकोट इङ्ग्लिस स्कुललाई र त्यहाँका प्राचार्य हीरालाल अर्याललाई ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । कार्यक्रममा चितवन तथा नवलपुरका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, खुशीको मार्ग की नेपाल प्रतिनिधि मीना शर्मा गौँडेल, लाइफ एसोसियसन एपीयसका नेपाल प्रतिनिधि महेश कुँवर, चितवन मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटीलगायतको उपस्थिति रहेको थियो ।
अवार्ड वितरण कार्यक्रममा ग्रीनल्याण्ड पब्लिक स्कुल र गैँडाकोट इङ्ग्लिस स्कुलको खुसीको मार्ग अन्तरगतको विभिन्न अवधारणा अन्तरगत विगतमा गरिएका कृयाकलाप प्रस्तुत गरिएको थियो । रोको लानता प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रोसाना लानतीले गर्नुभएको थियो । उक्त कार्यक्रमको सम्पुर्ण निर्देशन तथा व्यवस्थापन लाइफ एसोसियसन एपीयसका मानर्थ सदस्य तथा नेपाल प्रतिनिधि सदस्य मिलन न्यौपानेले गर्नु भएको थियो ।