चितवन। भारतीय काउलीका कारण बजार नपाएपछि भरतपुर महानगरपालिका–२४ नयाँबस्तीका एक किसानले काउली बारीमा ट्याक्टरले जोतेका छन् ।
भरतपुर–२४ नयाँबस्तीस्थित केरुंगा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थामा आबद्ध किसान अर्जुन पुरीले काउलीले कुनै पनि भाउ नपाएको भन्दै सहकारीकै ट्याक्टर प्रयोग गरी काउली बारी जोतेका हुन् ।
‘कुनै पनि उपाय नलागेपछि, बजारबाट पनि माग नआएपछि बाध्य भएर जोत्नुपरेको हो’, उनले भने । किसानलाई जोताई खर्च नलागोस् भनेर सहकारीले आफ्नै ट्याक्टर निःशुल्क उपलब्ध गराएको छ ।
‘बजारमा बिक्दै बिकेन, अनि तरकारी बारीमा ट्याक्टरले जोत्नुपरेको हो । काउलीसँगै नबिकेपछि दुई देखि तीन लाख घाटा भएको छ’, उनले भने । बारी जोतेर गोलभेडा लगाउने तयारी गरेको उनले बताए ।