चितवन। चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिट्रेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ ।
सूचना प्रविधि (आइटी) का विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा प्राडा ई हरि भण्डारीले डिजिटल लिट्रेसी र ई कृष्ण पोख्रेलले व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
गोष्ठीमा सहभागी विद्यार्थी र उद्योग व्यावसायीलाई भण्डारी र पोख्रेलले विविध विषयमा प्रशिक्षणात्मक प्रस्तुती दिएका छन् । उनीहरुले व्यवसाय प्रवद्र्धनमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण बन्दै गएको बताउँदै यसबाट व्यावसायीहरुले फाइदा लिनुपर्ने बताएका छन् ।
गोष्ठीमा भरतपुर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान लगायतको उपस्थिति रहेको थियो । गोष्ठीलाई चितवन महोत्सव सूचना तथा प्रविधि व्यवस्थापन समिति संयोजक सन्तोस जनक भुषालले संयोजन गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन एवम् सहजीकरण गरेका थिए ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुती चितवन महोत्सव २०८१ पुष २५ बाट सुरु भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।