चितवन । खैरहनी नगरपालिकाले नगरभित्रका कृषकहरूको कृषि उत्पादनलाई सुरक्षित, स्वस्थ र दिगो बनाउने उद्देश्यले २५% अनुदानमा जैविक विषादी र जैविक सामग्री वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जैविक विषादी र जैविक सामग्रीको वितरण सुरुवात गर्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै कृषकहरूलाई रासायनिक विषादीको सावधानीपूर्वक प्रयोग गर्दै जैविक तथा एकीकृत कीट व्यवस्थापन (IPM) विधिहरूको प्रयोगमा जोड दिन आग्रह गरे ।
नगरपालिकाबाट वितरण भएका जैविक विषादी र जैविक सामग्रीको प्रयोगबाट प्राप्त हुने परिणामहरूको विश्लेषण गर्न आगामी दिनमा कृषकहरूबीच अनुभव आदान-प्रदान कार्यक्रम समेत आयोजना गरिने नगर प्रमुख खनियाको भनाई थियो । कार्यक्रममा उनले कार्यक्रम मार्फत कृषकहरूलाई जैविक खेतीतर्फ आकर्षित गर्दै उत्पादन लागतलाई कम गर्ने, विषादीको सुरक्षित प्रयोगलाई प्रोत्साहित गर्ने र स्वस्थ कृषि उत्पादन सुनिश्चित गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
जैविक विषादी र जैविक सामग्रीको वितरण कार्यक्रम मार्फत खैरहनी नगरपालिकाका कृषकहरूले आफ्नो खेतीयोग्य बाली र आवश्यकताका आधारमा जैविक विषादी, आकर्षक फन्दा र अन्य सामग्री प्राप्त गर्न सक्ने र सामग्रीको कुल मूल्यमा नगरपालिकाबाट २५% अनुदान प्रदान गरिने साथै, सामग्रीको प्रयोगबारे प्राविधिक सहयोग र विस्तृत जानकारी प्रदान गरिने व्यवस्था गरिएको खैरहनी नगरपालिकाको उप प्रमुख कविता उप्रेतीले जानकारी गराईन।
नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले कृषकहरूको खेतमा पुगेर गरिएको निरीक्षणले हानिकारक रासायनिक विषादीको अव्यवस्थित प्रयोग र जैविक विधिबारे अनभिज्ञता देखिएको साथै जैविक विषादी र जैविक तथा एकीकृत कीट उपकरणहरूको सहज आपूर्ती नभएकोले यस्तो समस्यालाई समाधान गर्न खैरहनी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम मार्फत यो कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी गराए ।
यस कार्यक्रम बाट १० थरिका जैविक बिषादी र १४ थरिका जैविक सामाग्री वितरण हुनेछ जस मध्य ट्राइकोड्रमा, स्युडोमोनस जैविक ढुसीनासक हुन् भने ब्युभेरिया, मेटाराईजियम, भर्टिसिलीयम समेतका जैविक किटनाशक त्यस्तै पहेलो र निलो च्याप-च्यापे पासो र ७ थरिका मोहनीयुक्त बिषादी र ३ थरिका पासो जैविक सामग्रीको रुपमा आवश्यकता अनुसार वितरण हुने कृषि अधिकृत न्यौपानेले जानकारी गराएका छन् ।