चितवन । कलेजो रोगबाट पीडित विनोद अधिकारीको उपचार गर्दा घरघडेरी गम्यो । मासु पसल सञ्चालन गरेर परिवार पाल्दै आएका रत्ननगर वडा नं १२ घेघौली निवासी ३९ बर्षीय अधिकारीको अहिले सम्म उपचार गर्दा करिब २१ लाख सकियो । १० घुरमा बनेको एकतले पक्की घर बेचर उनले उपचार गर्दा लागेको ऋण तिरे ।
चितवन मेडिकल कलेज, काठमाडौंको नर्भिक अस्पताल र नेशनल मेडिसीटी अस्पतालमा उनले उपचार गरे । २१ लाख खर्च गरेर उपचार गर्दा पनि रोग निको भएन । पछिल्लो ६ महिना अघि नेशनल मेडिसीटी अस्पतालमा रोग पहिचान भयो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले सुझाए । सम्पती भनेको घरघडेरी मात्र थियो । मासु पसल गरेर आर्जन गरेको पैसाले उनले बुवाआमा, श्रीमति र छोराछोरी पाल्दै आएका अधिकारी परिवारको आर्थिक अबस्था दयनीय रहेको छ ।
कलेजो प्रत्यारोपणको लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । श्रीमानलाई कलेजो दिन श्रीमति रन्जना अधिकारी तयार भएकी छन् । तर कलेजो प्रत्यारोपणको लागि चाहिने पैसा नभएपछि परिवार, आफन्त र टोल विकास संस्थाका नेतृत्वले आर्थिक सहयोगको अपील गरेका हुन् । कलेजो प्रत्यारोपणको लागि सहयोग जुटाउनुको विकल्प नभएपछि परिवारका आफन्तहरुले अधिकारी निवासमै पत्रकार बोलाएर समस्या सुनाउदै आर्थिक सहयोगको अपील गरेका हुन् । घरघडेरी बेचेर अहिले सम्म उपचार गरे कलेजो रोग पीडित अधिकारीले भने थप उपचारको लागि मैले गर्न सक्ने केही छैन, जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन अपील गर्दछु ।
छोराछोरीको भविश्वको लागि पनि म बाच्न चाहन्छु उनले अगाडि भने तपाईहरुको सहयोगले मेरो जीवन रक्षा हुने छ । घेघौली टोल विकास संस्थाका अध्यक्ष गोविन्द प्रसाद पौडेलले दिनभरी कमाएर परिवार पाल्दै आएका अधिकारीको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरे । स्थानीय राजेन्द्र प्रसाद न्यौपानेले अधिकारीको लालाबालाको भविश्यको लागि पनि सबैको सहयोग आवश्यक रहेको बताए । अधिकारीको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले उनकी आमा बालकुमारी अधिकारीको नाममा रहेको देव विकास बैंक टाँडी शाखामा रहेको खाता नं १०११२१००१००७११ मा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।