चितवन। चितवनको देवघाटमा आजबाट शुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुग्नुभएकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाइ भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गर्नुभएको हो। सो अवसरमा महनगर प्रमुख दाहालले देवी प्रतिभा हाम्रो देशको गौरव भएको उल्लेख गर्दै अझै प्रगतिको कामना गर्नुभयो। भरतपुर महनगरले जनचाहना अनुरुपको बिकासका कामलाइ प्राथमिकता दिएको उल्लेख गर्दै भरतपुर क्षेत्रको प्रचार र प्रवर्दनमा भुमिका खेल्न आग्रह पनि गर्नुभयो।
सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै बिकासको गति देखेर आफू खुशी भएको प्रतिक्रिया दिनुभयो । उहाले मेयर दाहाललाई सधै जनताको प्यारो बन्न शुभकामना पनि दिनुभयो ।
देवघाट महामहोत्सवका परिकल्पनाकार इश्वरकृष्णजी महाराजले देवी प्रतिभा र भरतपुरकी मेयर रेनु दाहाल दुवै यो युगको शक्तिशाली व्यक्तित्व भएको उल्लेख गर्दै देश बिकासमा ठूलो भूमिका खेलेको चर्चा गर्नुभएको थियो।
देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलसे जानकारी दिनुभयो। देवघाटधाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने छ।