चितवन । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् ।
सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए । थारु संस्कृति मार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति संग्रहालय सञ्चालनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चित्स्यान केन्द्र सञ्चालनको लागि पहल गर्ने बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरीले थारु संस्कृति संरक्षणको लागि तीनै तहका सरकार सकरात्मक हुनुपर्ने बताए । थारु संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको मध्यम बनाउन सकिने भन्दै उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले थारु समुदायको राजनीतिक अधिकार स्थापित हुन नसकेको भन्दै उनले मुलुकका प्रमुख राजनीति दल थारु समुदायप्रति उदारबादी हुनुपर्नेमा जोड दिए ।
आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले थारु संस्कृति जोगाउन हरेक बर्ष खिचरा महोत्सव आयोजना गर्दै आएका बताए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ ।
“राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए । थारु कल्याणकारिण सभा केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलबाल, प्रदेश सभा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, खैरहनी वडा नं ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल लगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको थियो । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । महोत्सव सुरु हुनुपूर्व खैरहनीमा भब्य शोभायात्रा निकालिएको थियो ।