चितवन। पूर्वी चितवनको रत्ननगरमा व्यक्तिगत सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रम रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी, सामुदायिक वन तथा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले व्यवसायिक प्रवर्द्धन र सुरक्षाका अलवा संघले सीप विकास, उद्यमशीताको विकास र सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै विपद् व्यवस्थापनको लागि जनशक्ति तयार गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै उपमेयर पाठकले विपद् व्यवस्थापनको लागि स्थानीय सरकारले वार्षिक रुपमा जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गर्दै आएको बताए । रत्ननगर नगरपालिकाले विपद् व्यवस्थापनको लागि पूर्वतयारीका सम्पूर्ण चरणहरु पूरा गरेको भन्दै उनले निजी क्षेत्रले विपद् व्यवस्थापनको लागि देखाएको तदारुकता उदाहरणीय रहेको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रन्जन अवाले नेपाल सरकारले विपद् व्यवस्थापनको लागि सुरक्षा निकाएलाई जिम्मेवारी प्रदान गरेको भए पनि नेपाल प्रहरीमा आगलागी नियन्त्रणको ज्ञान कम रहेको बताए ।
विपद्को बेला नेपाल प्रहरीको उपस्थितिले प्रभावित मान्छेहरुले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नेपाल प्रहरी अग्रस्थानमा रहेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ वसन्त रानाले विपद् व्यवस्थापन, आगलागी नियन्त्रण र प्राथमिक उपचारको विषयमा तालिममा सहभागीहरुलाई सैद्धान्तिक तथा व्यावहारिक पक्षबाट प्रशिक्षण दिएका थिए । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।