चितवन । एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन भोली (बुधबार) गैँडाकोटमा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी समेत सकिएको आज (मगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । अधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउने क्रम जारी रहेको अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी दिनुभयो ।
राष्ट्रिय अधिवेशनमा ४ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको बन्द सत्रमा यातायात व्यवसायीका साझा समस्या बारे छलफल हुने अध्यक्ष मैनालीले जानकारी दिनुभयो । अधिवेशनमा उठेका व्यवसायीको समस्यालाई समाधान गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसंग पहल गरिने उहाँले बताउनुभयो । यस अधिवेशनले तीन वर्षका लागि १७ पदाधिकारी सहितको ७३ सदस्य नयाँ कार्यसमिति समेत चयन गर्नेछ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनमा देशभर १० हजार व्यवसायी आवद्ध रहेका छन् । पछिल्लो समयमा यातायात व्यवसायी घाटामा गएको संगठनको दाबी छ ।
अहिले सरकारले बढाएको सार्वजनिक यातायात सवारीको भाडा दरसमेत बैज्ञानिक नभएको व्यवसायी टेकनाथ गौतमले बताउनुभयो । ‘अहिले पेट्रोलको मुल्यलाई मात्र हेरेर भाडा दर कायम गरिएको छ । अन्य क्षेत्रको मुल्यांकन भएको छैन । अहिलेको भाडाले व्यवसायीको लगानी समेत उठ्ने अवस्था छैन,’– उहाँले भन्नुभयो । सवारी दुर्घटना बिमामा समेत समस्या रहेको उहाँले बताउनुभयो । गैँडाकोटको श्रीराम पाटी प्यालेसमा पुस २५ गतेसम्म सञ्चालन हुने अविवेशनको उद्घाटन भोली एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गर्नुहुनेछ ।