चितवन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) चितवनको अध्यक्षमा मदन पुरी निर्वाचित भएका छन् । रत्ननगरस्थित स्काइराइडर इङ्लिस स्कुलका प्रधानाध्यापकसमेत रहेका पुरी प्याव्सन चितवनको १६औँ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका हन् ।
प्याव्सन चितवनको कार्यालय भरतपुरमा शनिबार सम्पन्न अधिवेशनबाट पुरी निर्विरोध अध्यक्ष चयन भएका हुन् । अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा टेकराज अधिकारीलाई निर्वाचित भएका छन् । प्याव्सन चितवनको कार्यसमितिका सबै पद निर्विरोध भएपनि यो पदमा निर्वाचन भएको थियो । भानुभक्त अर्यालले वरिष्ठ उपाध्यक्षको अडान नछोडेपछि उक्त पदमा चुनाव भएको हो ।
त्यसैगरी निर्विरोध चयन भएका अन्य पदहरुमा कृष्णप्रसाद भट्ट र शारदा ढकाल उपाध्यक्ष, दयानिधि अर्याल सचिव, युवराज पौडेल कोषाध्यक्ष, पशुपति उपाध्याय सहसचिव र सहकोषाध्यक्षमा जीवन महतो चयन भएका थिए । त्यस्तै सदस्यहरुमा गोकुलप्रसाद भट्ट, वेदनिधि अर्याल, हीराप्रसाद रिमाल, विष्णुबहादुर बस्नेत क्षेत्री र कमलप्रसाद सापकोटा चयन भएका छन् ।
निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरिसकेका छन् । सपथ ग्रहणपश्चात नवनिर्वाचित अध्यक्ष पुरीले भने, ‘चितवनलाई शैक्षिक ‘हब’ बनाउने किसिमले सबैको सार्थक र साझा प्रयासले यहाँको शैक्षिक गतिविधिलाई अगाडि बढाइनेछ, विदेश पलायन भइरहेका विद्यार्थीलाई देशमै अडिने वातावरण सिर्जना गर्ने र देशलाई समृद्ध बनाउनेतर्फ सबैको साझा सोच बनाएर काम गर्नेछौँ ।’
प्याव्सन चितवन जिल्ला कार्यसमितिको १६औँ जिल्ला अधिवेशन तथा ३४औँ साधारण सभा कीर्तिनिधि अर्यालको अध्यक्षतामा बसेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयले पु¥याएको योगदानको चर्चा गर्दै यसका चुनौती, अवसर र सम्भावनाका बारेमा बोलेका थिए । विशिष्ट अतिथिका रुपमा मन्तव्य राख्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर विदेश मोहलाई कम गराउन आवश्यक भएको बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सीता रिजालले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रममा प्याव्सन चितवन स्मारिका– अङ्क ३ विमोचन गरिएको थियो । उक्त कार्यक्रममा प्याब्सन चितवनको आयोजनामा सम्पन्न विविध कार्यक्रमका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।