चितवन । तेस्रो खैरहनी महोत्सव छैटौं दिन अपरान्ह मौसम चिसिदै थियो । सार्वजनिक बिदा भएकाले पनि दर्शकको उपस्थिति निकै बाक्लो देखिन्थ्यो । दिउँसोदेखिनै दर्शकलाई गायिका शान्ति रानी परियारले मनोरञ्जन दिलाएकी थिइन् । शान्तिको गितमा भरपुर मनोरन्जन लिएका दर्शकले अपरान्ह अभिनेता पल शाहको उपस्थितिले झनै माहोल तताउन सुरु गरे । शान्ती रानिको म त ढले ढले भन्ने गितमा झुमेका दर्शकलाई अभिनेता पल शाहले नृत्य मार्फत झनै झुलाईदिए । सांझको मौसम चिसिदै गएपनी पल शाहको नृत्यले दर्शकले चिसोको कुनै प्रवाह गरेनन् । लामो समय स्टेजमा देखिएका शाहले सांझै सम्म मनोरञ्जन दिलाए ।
बुधबारनै बाल गायक सुप्रिम मल्ल ठकुरीको प्रस्तुति पनि रहेको थियो । अन्य दिन दर्शकको उपस्थिति संतोषजनक रहेकोमा बुधबारको उपस्थितिले महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनी हौसिएको छ । बुधबार करिब १७ हजार २ सय दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ । संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालका अनुसार अब दर्शकको उपस्थिति बाक्लिदै जानेछ । आजको उपस्थितिले हामिमा उत्साह थपेको छ,संयोजक खनालले भने – अब बिस्तारै महोत्सवको रौनक बढ्नेछ ।
महोत्सवको सातौं दिन अर्थात बिहीबार चर्चित गायिका अस्मिता अधिकारी लगायतका कलाकार आउने महोत्सवको कला तथा सांस्कृतिक समिती संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म चल्ने छ भने पुस १३ गतेदेखि १५ गतेसम्म पर्सामा फुडफेस्टिवल पनि आयोजना हुदैछ ।
महोत्सवमा रक्तदान ,६१ युनिट रगत संकलन
तेस्रो खैरहनी महोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । महोत्सव परिसरमै आयोजित कार्यक्रममा ६१ युनिट रगत संकलन भएको महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । जसमा ४१ जना पुरुष र २१ जना महिलाले रगत दान गरेका थिए । रक्तदान गर्ने मध्य १८ जना नयाँ दाता रहेको स्वास्थ्य समिति संयोजक बिनोद नेपालले जानकारी दिए । रक्तदान गरेका प्रत्येकलाई एक एक वटा टिकट निशुल्क प्रदान गरिएको थियो ।