काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । खेल उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुनेछ ।
समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपाल छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ ।
नेपालले हङकङसँग दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ । नेपालले हङकङसँग सन् १९८६ मा १–० ले तथा सन् १९८९ मा ३–० को हार बेहोरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो ।
सन् २०१८ मा भने हङकङको राष्ट्रिय टोलीलाई नेपाल एपिएफको महिला टोलीले ३–१ को जित निकालेको थियो । महिला टोली पनि एपिएफले निकालेको जितलाई निरन्तरता दिदै हङकङमाथि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ । चोटका कारण फरवार्ड बिमला चौधरी र डिफेन्डर पुजा रानाले खेल्ने सम्भावना न्युन छ ।