चितवन। नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको दोस्रो खेल चितवन राइनोजले जनकपुरबोल्ट्सलाई ३२ रनले पराजित गरेको छ । दुवै टिम लिग चरणको अन्तिम खेल खेलिरहेका थिए । टस जितेर पहिला ब्याटिङ गरेको चितवनले कप्तान कुशल मल्लको अर्धशतकमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको जनकपुर १८ ओभरमा १४८ रन बनाउँदा अलआउट भयो । जनकपुरका तीन जना खेलाडी रनआउट हुन पुगेका थिए । जुन उसको हारको एक कारण बन्यो । जनकपुरका लागि जेम्स निशमले १८ बलमै अर्धशतक बनाउँदै विस्फोटक ब्याटिङ गरे पनि उनलाई अर्को इन्डबाट साथ दिने ब्याटर भएनन् ।
निशम २४ बलमा ६५ रन बनाएर आउट भए । यस्तै आसिफ शेखले २३ रनको योगदान दिए भने शुभ कंसाकारले १५ रन बनाए । अन्य ब्याटर चल्न नसक्दा जनकपुरले प्रतियोगितामा दोस्रो हार व्यहोरेको हो । हार पछि पनि जनकपुर १० अंकका साथ शीर्ष स्थानमा कायमै छ । तर लिग चरणको शीर्षमा कुन टिम रहन्छ भन्ने टुंगो भने लागेको छैन ।
उता चितवनलाई महत्वपूर्ण जित दिलाउने क्रममा रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले दुई दुई विकेट लिए भने अमर रौटेलाले एक विकेट लिए । त्यसअघि कुशल मल्लले ४१ बलमा ७२ रन बनाउँदै टिमको मजबुत स्कोर बनाउन योगदान दिएका थिए । यो जितपछि चितवन राइनोज ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने उसको प्लेअफ दौड बलियो भएको छ । ८ अंक नै रहेको कर्णाली याक्सले अब एक खेल खेल्न बाँकी छ ।
उता काठमाडौं गुखार्ज पनि प्लेअफको दौडामा छ । सुदूरपश्चिम रोयल्सको पनि ८ अंक छ । उ रनरेटमा सबैभन्दा राम्रो भएकाले दोस्रो स्थानमा छ । सुदूरले अझै दुई खेल खेल्न बाँकी छ ।