चितवन । कालिका नगरपालिका वडा नं ७ मा रहेको जुटपानी खानेपानी सरसफाई उपभोक्ता संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न भएकोछ । शनिवार सम्पन्न साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार आर्थिक बर्ष २०८०/०८१ मा सो संस्थाले रू १ करोड ३२ लाख ६ हजार ४९ रूपैँया आम्दानी गर्न सफल भएकोमा रू १ करोड ३४ लाख ३१ हजार ४ सय ८५ रूपैँया खर्च गरि रू १ लाख ७१ हजार ४ सय ३५ घाटामा गएको छ ।
संस्थाले पानी महसुलबाट मात्र १ करोड २ लाख ३६ हजार ७ सय ३० रूपैँया आम्दानी गरेको हो । २०६५ सालमा स्थापना भएको सो संस्थाका ४ हजार जना उपभोक्ता रहेको छ ।
कालिका नगरपालिकाका मेयर बिनोद रेग्मी अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष होम वहादुर गुरुङले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम भावि कार्ययोजना, सचिव सन्तोष भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रितु भट्ट पाठकले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक बालकृष्ण अधिकारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिका नगरपालिकाकी उप मेयर बिमला तामाङ, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, नेपाली कांग्रेसका कालिकाका सचिव दिपेश्वर के।सी, नेकपा एमालेका नगर अध्यक्ष केशव लामा, नेकपा माओबादी केन्द्रका सचिव राजेन्द्र ढुङ्गाना, रास्वपाका प्रतिनिधि डा. हरी प्रसाद कंडेल लगाएतले मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सचिव सन्तोष भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा कर्मचारी तथा संस्थाको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिएको थियो ।