काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उहाँले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताउनुभयो ।
अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्छ”, उहाँले भन्नुभयो । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उहाँले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताउनुभयो ।
आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उहाँले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिनुभयो । “विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ”, उहाँले भन्नुभयो । यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र शिक्षक समाजबीच एकता
सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् ।
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभयो । सो क्रममा दुवै सङ्गठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।
सङ्गठनका अध्यक्ष अधिकारीले शिक्षका अधिकारका निम्ति एकता आवश्यक भएको बताउनुभयो । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याउनुभयो ।