चितवन। देशका बिभिन्न भागमा कृषि तथा पशुपालनलाई आधार बनाएर संचालित सामाजिक उद्यमी महिला सहकारीका संचालक एवम् व्यवस्थापकहरुलाई आधारशिला र सहकारीका मुल्य मान्यताका बिषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । सेवा नेपालको आयोजनामा भएको सो कार्यक्रममा नेपालगञ्ज,बुटवल,भरतपुर र जनकपुर गरी ४ वटा सेवा क्षेत्रमा संचालित महिला उद्यमी सहकारीका संचालक र व्यवस्थापक गरी २१ जनालाई सो प्रशिक्षणको आयोजना गरिएको हो ।
हेफर इन्टरनेशनलका एसिया सहनिर्देशक बुद्धी खत्री र तालिम अधिकृत विष्णु कंडेलले सामाजिक पू‘जी बिकासको बिषयमा सहजिकरण गर्नुभएको थियो भने प्रवन्धक वुद्धीराज तामाङले सहकारी सवलीकरणको बिषयमा सहजीकरण गर्नुभएको थियो । सो प्रशिक्षणमा हेफरले तय गरेका १२ वटा आधारशिला र सहकारीका मुल्यमान्यताबारे सहभागिहरुले व्यापक छलफल गरेका थिए ।
देशका बिभिन्न भागमा रहेका सहकारीको रकम अपचलनबारे व्यापक वहस र मुद्धामामिला भईरहेको समयमा सेवा नेपालले आयोजना गरेको यो प्रशिक्षणले सहकारीको मुुल्य,मान्यता,आदर्श एवम् हेफरको आधारशिलालाई केन्द्रमा राखेर सहकारीका संचालक र व्यवस्थापकलाई प्रशिक्षण दिनुलाई सकारात्मक रुपमा हेरिएको छ । सेवा नेपालका सचिव शैलजा घिमिरे पौडेलले सामाजिक उद्यमी महिला सहकारीहरु शुरुदेखि नै सहकारीको मुल्य र मान्यतालाई अक्षरसः पालना गर्दे अगाडी बढिरहेकोले यस खालका प्रशिक्षणले अझ शशक्त र सवलीकरण गर्ने बताउनुभयो ।
सेवा नेपालले कृषि र पशुपालनलाई आधार बनाएर उत्पादनशिल सेवा व्यवसायमा लागेका महिलाहरुलाई आवश्यक तालिमहरु दिई उत्प्रेरित गर्दे आएको छ । कृषि र पशुपालनजन्य उत्पादनको बजारिकरण,सम्वद्ध महिला दिदीवहिनीको क्षमता अभिवृद्धि र सहकारीको समेत क्षमता अभिवृद्धिमा ध्यान दिदै आएको सेवा नेपालले सुदुरपश्चिम बाहेकका सबै क्षेत्रमा काम गर्दे आएको छ । कृषि र पशुपालनलाई आधार बनाएका करिव ५ लाख महिला उद्यमीहरु यस संस्थामा आवद्ध छन् ।