काठमाडौँ। मंसिर १६ गते देशभरका ४१ स्थानमा भएकाे स्थानीय तहको उपचुनावको नतिजाले आफ्नो पार्टीलाई जनतातिर फर्किने सन्देश दिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
सोमबार राति अबेर सकिएको मतगणनाको परिणामअनुसार माओवादीले नगरपालिका र गाउँपालिकाका ४२ स्थानमध्ये एक गाउँपालिका अध्यक्ष, एक नगरपालिका उपप्रमुख, एक गाउँपालिका उपाध्यक्षसहित ११ स्थानमा जित हासिल गरेको छ। निर्वाचन भएकामध्ये ८ वटा स्थान यसअघि माओवादीले जितेका थिए। उसले ८ मा अरूथप ३ स्थान उपचुनावबाट थपेको छ।
कांग्रेस र एमालेको मत खोसेरै मोरङको ग्रामथान अध्यक्ष जितेको माओवादी कीर्तिपुर नगरपालिकामा आफ्नो मत जोगाउँदै दोस्रो भयो।
प्रवक्तासमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले उपचुनावको नतिजाले माओवादीप्रति जनतामा आशा बढ्दै गएको देखाएको तर्क गरे।
‘उपचुनावको नतिजाले जनता माओवादीतिर फर्कन खोजिरहेका छन् भन्ने देखायो,’ सापकोटाले नेपालखबरसँग भने, ‘उपचुनावले एउटा आधार बन्यो। अब ०८४ सम्म यही आधारलाई टेकेर रूपान्तरित हुँदै अगाडि बढ्ने हो भने माओवादीको पक्षमा राम्रो नतिजा आउने निश्चित छ।’
२०७४ मा एमालेसँगको गठबन्धन र २०७९ मा कांग्रेससँगको गठबन्धनले माओवादीलाई क्षति पुर्याएको उपचुनावबाट देखिएको प्रवक्ता सापकोटाको दाबी छ।
‘एक्लै चुनावमा जाँदा माओवादीलाई जनताको साथ छ भन्ने उपचुनावले पुष्टि गर्यो,’ उनले थपे, ‘अरू पार्टीसँग मिलेपछि माओवादीको पहिचान बिग्रियो। हामीले लिएको विचार, योजना, सपना छायामा पर्यो। अब एक्लाएक्लै प्रतिस्पर्धामा जाँदा स्थानीय, प्रदेश र संघीय चुनावमा राम्रो नतिजा ल्याउने बलियो सन्देश पनि यो चुनावले दिएको छ।’
उपचुनावमा पार्टीले पाएको मत बढेको, केही नयाँ स्थानमा जितेकोले संगठन निर्माणमा ध्यान दिनुपर्ने उपचुनावको सन्देश रहेको उनले बताए। गठबन्धन गरेकैले पछिल्ला ७ वर्ष पार्टीले संगठनमा ध्यान दिन नपाएको उनले स्वीकार गरे।
‘अबको मुख्य ध्यान संगठन निर्माणमा केन्द्रित हुनुपर्ने सन्देश पनि उपचुनावले दियो, संगठन निर्माण, विकास र सुदृढीकरणमा लाग्नुपर्छ। मूल कुरा संगठन नै हो। अब यसमै जोड दिनुपर्छ,’ उनले भने।
उपचुनाव भएका देशका विभिन्न स्थानमा नेकपा एमालेलाई माओवादीले पछि पारेको छ। हारेको तहमा पनि माओवादी निकटतम् प्रतिस्पर्धी बनेको छ। जबकि, अघिल्लो चुनावमा तेस्रो स्थानमा देखिएको माओवादीले उपचुनावमा पुनरागमन गरेको सापकोटा दाबी गर्छन्।
‘एमालेले आफूलाई वामपन्थी प्लट दाबी गरेको थियो तर त्यो कुरा उपचुनावले खण्डन गर्यो,’ प्रवक्ता सापकोटाले ठोकुवा गरे,’ वामपन्थी मूलधारको पार्टी माओवादी नै हो भन्ने बलियो आधार उपचुनावले देखायो।’ माओवादीले चुनावी समीक्षा गरेर आगामी कार्यक्रम बनाउने पनि उनले बताए।
गएको असार २८ गते सरकारबाट हटेपछि माओवादी केन्द्रका नेताहरुले पार्टी निर्माणमै लागेको बताइरहेका छन्। उपचुनावको नतिजाले जनतामै फर्क र जनतालाई नछोड भन्ने सन्देश दिएको माओवादी नेताहरु बताउँछन्।