काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजनै प्रहरीले पोखरा फर्काउने तयारी गरेको छ ।
लामिछानेको बयान लिइसकेर जहाजबाट उनलाई पोखरा पठाउने तयारी प्रहरीले गरेको रविका सचिवालयका एक नेताले बताए ।
यही कात्तिक २५ गते जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई सहकारी ठगीसम्बन्धीसहितका प्रकरणमा अनुसन्धान गर्न थप १३ दिन म्याद दिएको थियो ।
कास्कीमै म्याद थप भएकाले उनलाई अड्डासार गरेर रुपन्देही लगिएको थियो । रुपन्देहीमा हुँदा पनि उनको हिरासतको हिसाब कास्कीकै कायम हुन्छ ।
यता लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।
सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई तीन दिन अगाडि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।