चितवन । केन्द्रीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताल कमजोर पूर्वाधार, न्यून गुणस्तर सेवा, चिकित्सकको लापरवाही , विरामीलाई गरिने अभद्र व्यवहारबाट अछुतो नरहेको नौलो बिषय होइन । पटक पटक विवाद र समस्या भईरहने यो अस्पतालमा पुनः पछिल्लो पटक सवारीसाधन पार्किङ्ग अभावका कारण अस्तव्यस्त र कुरुप देखिएको छ । पार्किङ्ग नहुंँदा सेवाग्राहीले अस्पताल बाहिर यत्रतत्र सवारीसाधन पार्किङ्ग गरेको पाईन्छ । सडकनै छोप्नेगरी दुईतर्फी सवारी साधन पार्किङ्ग गरिंँदा विरामी लिएर आउने एम्बुलेन्स र सवारीसाधनलाई झनै कठिन भएको छ । सडक किनारामा पार्किङ्ग गर्दा एकातिर दुर्घटना जोखिम त छदैछ अकोर्तिर अस्पतालको स्वरुप लाईनै कुरुप बनाईदिएको छ ।
दुईदर्जन भन्दा बढी जिल्लाबाट उपचारको लागि आउने यो अस्पतालको विजोग र अस्तव्यस्त भएपनि सरोकारवालाले यसप्रति बेखर र वेवास्ता गरेका छन । ट्राफिक व्यवस्थापनमा अस्पताल प्रशासन पनि ग्रैहजिम्मेवार र लाचार बनेको छ । लामोसमय सम्म पश्चिमपट्टी पहिलेको ठाउंँ रहेको पार्किङ्ग सञ्चालनमा नआउंँदा सेवाग्राही मर्कामा परेका छन । पार्किङ्ग विकल्प अर्को स्थानमा व्यवस्थापन नगरी सोही ठाउंँमा मोज्याक टायल लगाउने भन्दै उक्त पार्किङ्ग क्षेत्र अलपत्र बनाईएको छ ।
अस्पतालले कर्मचारीका लागि भित्र अलग्गै पार्किङ्गको व्यवस्था गरेपनि दैनिक हजारभन्दा बढी उपचारका आउने सेवाग्राही र सयौं सवारी साधन व्यवस्थावनमा अस्पताल अनुत्तरदायी बनेको सहजै प्रष्ट छ । सरकारी अस्पताल भएकै कारण अस्पतालको व्यवस्थापन पक्षलाई न चासो च न चिन्ता नै ।सरोकारवाला निकाय एक अर्कामा दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छिदै आएका छन ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेल अस्पतालका कर्मचारीको लागि भित्र पार्किङ्गको व्यवस्था गरिएको र सेवाग्राहीको लागि भने पार्किङ्ग निमार्ण कार्य भईरहेको बताउंँछन । ‘१५ दिन त भयो पार्किङ्ग बनाउन लागेको उनले भने, अब केही दिनभित्र सकिहाल्छ नि ।’ तर बाहिर छरपस्ट भएको पार्किङ्गको बारे आफ्नो सरोकारको बिषय नभएको उनले बताए । ‘स्टाफको लागि भित्र छ , सेवाग्राहीले स्वास्थ्य कार्यालय अगाडि राख्न सक्छन , पौडेलले भने, बाहिर जथाभावी राखिएको सवारीसाधन हेर्ने काम त ट्राफिक को हो नि ?’
उनले भनेजस्तो नत सेवाग्राहीले आफ्नो सवारीसाधन टाढा लगेर राख्न सकछन नत एम्बुलेन्स चालकले नै । स्वास्थ्य जस्तो संवेदनशील काममा आएका सेवाग्राहीका सवारी साधन र एम्बुलेन्सका लागि यो व्यवहारिक विकल्प पनि होइन । अस्पताल बाहिर पनि सवारीसाधन व्यवस्थापन गरेर वा शशुल्क रुपमा लिएर व्यवस्थापन गरेको खण्डमा एकातिर सवारीसाधनको सुरक्षा हुन्छ त अर्कोतिर ट्राफिक व्यवस्थापन पनि राम्रो देखिन्छ । तर सरोकारवालाबीच समन्वयको अभाव भएको देखिएको छ ।
जिल्ला ट्राफिक कार्यालय , चितवनका प्रमुख भगवानराज थापा अस्पतालले अस्पताल भित्रै पार्किङ्गको व्यवस्था गरिए यस्तो समस्या नहुने बताउंँछन । ‘हामीले कति ठाउंँमा हेर्ने , हामीलाई सहयोग गर्ने कसले ? उनले भने, हाम्रो जनशक्तिनै न्यून छ । सकिञ्जेल त व्यवस्थापन गरेकै छौं ।’ अस्पतालले अस्पताल बाहिरको काम भनेर पन्छिन नमिल्ने उनको भनाई छ । ‘हामीले राजमार्गको व्यवस्थापन हेर्ने कि? भित्री गल्लीको हेर्ने कि? दुर्घटनाको हेर्ने ? ट्राफिक एक्लैले हेर्न त्यही अनुसार स्रोत, जन शक्ति पनि हुनुपर्यो ।’ थापाको गुनासो छ । स्थानीय सरकारको रुपमा रहेको भरतपुर महानगरपालिकाको पनि यसतर्फ पटक्कै ध्यान दिएको छैन ।
स्मार्ट सिटी बनाउने लक्ष्य लिएको महानगरले फोहोर व्यवस्थापन त गर्न नसकेको बेला भरतपुर अस्पतालको विषयमा चासो पटक्कै नलिएको हो । भद्रगोल पार्किङ्ग कारण महानगरको सौन्दर्यमा समेत असर परेको छ । आ–आफ्नो जिम्मेवारी सम्बन्धित निकायको नै हुने महानगरको दाबी छ ।
महानगरका प्रवक्ता अरुण पीडित भण्डारी अस्पतालको जिम्मेवारी अस्पताललेनै लिनुपर्ने बताउंँछन । ‘आफ्नो सेवाग्राहीको सवारीको पहिलो जिम्मेवारी अस्पतालकै हुन्छ , भण्डारीले भने, अस्पतालले ट्राफिकसंँग समन्वय गर्ने हो । हामीले आवश्यक पर्यो भने सहयोग गर्ने मात्र हो । ’भरतपुर अस्पतालको हाताभित्र रहेको पार्किङ्ग व्यवस्थापन बाहिर पेटी र किनारामा राखिएको पार्किङ्ग व्यवस्थापनमा समेत महानगरको भूमिका नहुने उनको भनाई छ ।