काठमाडौं। सुदर्शन पन्त–नेपालको कृषि प्रणाली सदियौंदेखि परम्परागत बालीनालीहरूसँग गहिरो रूपमा जोडिएको छ,जसले न केवल स्थानीय खाद्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको छ,तर यहाँको जैविक विविधता र पारिस्थितिक सन्तुलनलाई पनि सुदृढ बनाएको छ। तर आज, जलवायु परिवर्तनको तीव्र प्रभावले यो जैविक विविधता र परम्परागत खेती प्रणालीलाई गम्भीर चुनौती दिएको छ।
जलवायु परिवर्तनले मात्र होइन, बदलिँदो कृषि अभ्यास, बजार उन्मुख खेती प्रणाली, र बदलिँदो उपभोक्ता प्रवृत्तिहरूले पनि यस क्षेत्रको जैविक विविधतालाई जोखिममा पारेको छ। यस लेखले नेपालमा जलवायु परिवर्तन र कृषि जैविक विविधताको संरक्षणको आवश्यकता तथा त्यसमा परम्परागत बालीहरूको महत्त्वलाई उजागर गर्नेछ।
नेपालमा जलवायु परिवर्तन र यसको प्रभाव
नेपालमा तापक्रम वृद्धिले पर्वतीय क्षेत्रमा हिमनदीहरू पग्लन थालेका छन्, जसले कृषिमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। अनियमित वर्षा, बाढी, पहिरो, र खडेरीले किसानहरूलाई अझै धेरै समस्यामा पारेको छ। साना किसानहरू जसको मुख्यतः वर्षाजलमा आधारित खेती प्रणाली छ, ती जलवायुमानको अनिश्चितताले ठूलो आर्थिक नोक्सानी झेलिरहेका छन्। जलवायु परिवर्तनको यो प्रभावले उत्पादन क्षमतामा गिरावट ल्याइरहेको छ, जसले खाद्य सुरक्षामा पनि गम्भीर चुनौती खडा गरेको छ।
कृषि जैविक विविधताको महत्त्व
नेपालको विविध भौगोलिक बनावटले विभिन्न प्रकारका परम्परागत बालीहरूको विकासलाई सम्भव बनाएको छ। धान, मकै, कोदो, फापर, जौ, र विभिन्न दालबालीहरू यहाँका परम्परागत बालीहरू हुन्, जसले भौगोलिक, सांस्कृतिक र आर्थिक महत्त्व राख्छन्। यी बालीहरूले स्थानीय समुदायहरूमा खाद्य सुरक्षाको सुनिश्चितता प्रदान गर्नुका साथै जलवायुमानको उतारचढावसँग लड्ने लचिलो क्षमता राख्छन्।
उदाहरणका लागि, कोदो र फापर जस्ता बालीहरू कम पानी र सुक्खा माटोमा पनि उत्पादन गर्न सकिन्छ। यस्ता परम्परागत बालीहरूले जलवायुमानमा हुने अस्थिरतासँग जुध्न मद्दत गर्छन् र नेपालका पहाडी तथा हिमाली क्षेत्रमा बढ्दो खाद्य असुरक्षालाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
परम्परागत बालीहरू जलवायु लचिलोपनको आधार
नेपालका परम्परागत बालीहरूको आनुवंशिक विविधताले ती बालीहरूलाई वातावरणीय तनावहरू जस्तै सुख्खा, उच्च तापक्रम, र न्यून माटो उर्वरता जस्ता समस्याहरूसँग जुध्न सक्षम बनाएको छ।
यी बालीहरूले नेपालका ग्रामीण समुदायहरूमा खाद्य र पोषण सुरक्षाको ग्यारेन्टी दिन्छन्। फापर, जस्तो की ग्लुटेन–रहित र पोषणयुक्त बाली हो, ग्रामीण क्षेत्रका मानिसहरूको लागि विशेष महत्त्वपूर्ण छ, विशेष गरी जलवायु परिवर्तनको कारणले खाद्य अभाव भएको समयमा।
कृषि जैविक विविधताको संरक्षण चुनौतीहरू
तर, यी परम्परागत बालीहरू अहिले विभिन्न कारणले खतरामा परेका छन्।सरकारले प्रोत्साहन गरेको उच्च उत्पादन दिने आधुनिक बालीहरूको प्रयोग, बजारमा नगदे बालीहरूको बढ्दो माग, र उपभोक्ताहरूको बदलिँदो खानेकुराको प्राथमिकताले गर्दा परम्परागत बालीहरूको खेती घट्दै गएको छ।
यस्तै, ग्रामीण क्षेत्रका किसानहरूलाई प्राविधिक ज्ञानको अभाव, बीउको पहिचानमा कठिनाइ, र बजार पहुँचको अभाव जस्ता समस्याहरूले परम्परागत बालीहरूको संरक्षणलाई थप चुनौतीपूर्ण बनाएको छ।
सिफारिसहरूः परम्परागत बालीको संरक्षण र प्रवर्द्धन
नेपालमा जलवायु परिवर्तनको सामना गर्न परम्परागत बालीहरूको महत्त्व झन् बढ्दै गएको छ। यी बालीहरूलाई जलवायु लचिलोपनको आधार बनाउन निम्न सिफारिसहरूलाई कार्यान्वयन गर्नु आवश्यक छः
नीति–स्तरीय प्रोत्साहनः सरकारले परम्परागत बालीहरूको संरक्षण र खेतीलाई प्रोत्साहन दिने नीतिहरू ल्याउनुपर्छ। किसानहरूलाई बीउ आदानप्रदान गर्न र बचत गर्न अधिकार प्रदान गर्ने नीतिहरूमा जोड दिनु आवश्यक छ।
बजार पहुँच र आर्थिक प्रोत्साहनः परम्परागत बालीहरूको लागि जैविक प्रमाणपत्र, मेला व्यापार, र मूल्यवृद्धि जस्ता अवसरहरू सिर्जना गर्नुपर्छ। यसले किसानहरूलाई परम्परागत बालीहरूको खेती गर्न आर्थिक प्रोत्साहन प्रदान गर्छ।
समुदाय–आधारित संरक्षणः स्थानीय समुदायहरूको सक्रिय सहभागिता बिना परम्परागत बालीहरूको संरक्षण सम्भव छैन। बीउ बैंक, किसान फिल्ड स्कूल, र सहभागी प्रजनन कार्यक्रमहरूले परम्परागत बालीहरूको संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्छन्।
निष्कर्ष
जलवायु परिवर्तनको प्रभावले नेपालका कृषि प्रणालीलाई गम्भीर चुनौती दिएको छ। यस्ता अवस्थामा परम्परागत बालीहरूको संरक्षण र प्रवर्द्धन अझ महत्त्वपूर्ण बन्न पुगेको छ। यी बालीहरूले जलवायुमानमा हुने उतारचढावसँग लड्न सक्षम छन्, जसले नेपालको खाद्य सुरक्षालाई सुनिश्चित गर्नेछ। यसैले, नेपालले आफ्नो कृषि जैविक विविधताको संरक्षण गर्न सक्रिय पहल लिनु आवश्यक छ ताकि आगामी पुस्ताका लागि खाद्य सुरक्षा र जीवन निर्वाह सुनिश्चित गर्न सकियोस्।
– सुदर्शन पन्त
– कृषि तथा वन विज्ञान विश्वविद्यालय,–रामपुर, चितवन