चितवन। रत्ननगर नगरपालिका–३, शान्तिचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग भएर खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका–१ बस्ने वर्ष २१ का दीपेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार साँझ ६ बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते अवस्थामा रहेका चौधरीको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा साँझ सवा ७ बजे मृत्यु भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
प्रजिअ यादवका अनुसार स्कुटरमा पछाडि सवार खैरहनी नगरपालिका–१ बस्ने वर्ष २४ का अर्जुन चौधरी गम्भीर घाइते छन्। नाक र मुखमा चोट लागी घाइते भएका उनको मनकामना अस्पतालमै उपचार भइरहेको छ। त्यसैगरी मोटरसाइकल चालक खैरहनी नगरपालिका –१ बस्ने वर्ष २२ का अनिस बस्नेत र सोही मोटरसाइकलको पछाडि बस्ने सोही स्थानका वर्ष २२ को सुजेक दराई पनि घाइते छन्। उनीहरुको अवस्था मध्यम रहेको र पुरानो मोडिकल कलेज भरतपुरमा उपचार भइरहेको यादवले जानकारी दिए।