पोखरा। पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा- १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव चुनौतीपूर्ण रहेको भन्दै बतासले पुण्य काम गरेकाले सहयोग पठाएको बताए । ‘यहाँ पनि हामी दु:ख गर्नकै लागि आएका हौँ । तर, नेपालीहरू अक्सिजन नपाएर त्यसै मर्नुपरेको घटना सुन्दा अझ दु:ख लागेको छ’, उनले भने, ‘बतासको अभियान मनपर्यो । प्लान्ट जोड्न हाम्रो पनि साथ छ ।’
बतासले कोरोनाको दोस्रो लहर सुरु भएकै बेला अक्सिजन प्लान्ट बनाइदिने घोषणा गरेका थियो । तर, हालसम्म प्लान्ट जडान भएको छैन । फाउण्डेसनले ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन गरेको हो ।
प्लान्ट जडानका लागि पाँच करोड रुपैयाँ लाग्ने अनुमान छ । दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट जडान गरिने अध्यक्ष बतासले बताए । अभियानबाट हालसम्म तीन करोड सात लाख रुपैयाँ संकलन भएको उनको भनाइ छ ।
बतासको अभियानपछि एमालेको भ्रातृ संस्था प्रवासी मन्चले सोही अस्पतालमा प्लान्ट जडान गरिदिएको छ । दुई करोड रुपैयाँ लगानीमा प्लान्ट जोडिएको मन्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्लान्टले दिनमा २०० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ ।