चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मुटुका सम्पूर्ण उपचार हुने गरी सेवालाई स्तरोन्नती गरेको छ । अस्पतालमा मुटुको ओपनहर्ट सर्जरीदेखि बाल मुटुरोगको समेत सेवा पाईने भएको हो ।
विश्व मुटु रोग दिवसको अवसरमा अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी मुटुको बच्चादेखि बृद्धसम्म सबैको सबै खाले उपचार गर्ने जनाएको हो । बि.सं. २०६९ साल भदौ १ गतेबाट शुरु भएको मुटु उपचारमा हालसम्म आईपुग्दा १० हजार २५० शल्यक्रिया भएका छन् । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीका अनुसार ती मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हाल्ने, ७१८ जनामा मुटुमा व्याट्री राख्ने, ३०७ जनामा मुटुको भल्व खोल्ने, २ हजार १९२ जनामा मुटुमा आउने नसाको र १ हजार ८६० जनाको क्याथल्याबमा मुटुको जाँच गरिएको छ ।
यस अस्पतालमा वि.सं. २०७८ वैशाखबाट सिटिभिएस सेवा शुरु भएको हो । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । सिटीभिएस मार्फत् हालसम्म १ हजार ३०० शल्यक्रिया भएका छन् । सात दिनको बच्चादेखि ७८ वर्षको बृद्धसम्म र नौ सयग्रामदेखि ९० केजी तौलसम्मका व्यक्तिहरुको सिटिभिएस मार्फत् शल्यक्रिया गरिएको सिटिभिएस सर्जन प्रा.डा.अनिल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यी शल्यक्रियामध्ये मुटुको ओपनहर्ट सर्जरी १० प्रतिशत, रक्तनलीका ७० प्रतिशत र फोक्सोका २० प्रतिशत रहेका छन् ।
अस्पतालमा न्यूक्लियर कार्डियोलोजी सेवा समेत रहेको छ । यस विभागमा मुगा स्क्यानमार्फत् मुटुको काम गर्ने क्षमता नाप्ने गरिन्छ । यसरी स्क्यान गर्दा इकोले भन्दा वास्तविक देखाउँछ । यसैगरी मुटुको नसा साँघुरो भएको अवस्थामा साँघुरो भएको भाग र त्यसपछिको नसाको भाग मृत छ कि छैन भन्ने पत्ता लगाउन स्ट्रेस मेयोकार्डियल पफ्र्युजन स्क्यान गरिन्छ । नसाको रोग के छ ? भविष्यमा जोखिम) छ कि छैन भन्ने पत्ता लगाउन मेयो कार्डियल भायविलिटी स्क्यान गरिन्छ ।
अस्पतालमा छुट्टै बाल मुटुरोग विभाग पनि रहेको छ । पत्रकार सम्मेलनमा बाल मुटुरोग विशेषज्ञ डा. अतिजकुमार मिश्रले नेपालमा हरेक वर्ष करिब ६ हजार बालबालिका जन्मजात मुटुरोगका साथ जन्मने बताउनु भयो । ती मध्ये एक हजार हाराहारी मात्रै उपचारमा आउने गरेको भन्दै उहाँले बाँकी उपचारको पहुँच बाहिर रहेको बताउनुभयो ।
अस्पतालमा बालबालिकाको मुटुको ईको, ईसिजि, हल्टर लगायत जाँचहरु हुने गर्दछन् । जन्मजात हुने मुटुका प्वाल बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट बन्द गरिने, जन्मजात मुटुरोगको शल्यक्रिया, जन्मजात साँघुरो भएका मुटुका भल्वहरुको बेलुन पद्धतिबाट उपचार हुने गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी गर्भमा भएको बच्चाको मुटुको जाँच फेटल ईको कार्डियोग्राफी, बयस्क अवस्थामा थाहा पाईएका जन्मजात मुटुरोगको बिना शल्यक्रिया एन्जियोप्लास्टि माध्यमबाट हुने उपचार र शल्यक्रिया लगायत सम्पूर्ण बाल मुटुरोगहरुको जाँच र उपचार आफूहरुले गर्दै आएको डा. मिश्रको भनाई छ ।
सरकारले ७० वर्षमाथि र १५ वर्षमुनिकालाई मुटु रोग निःशुल्क सेवा दिने भएपनि राजधानी बाहिर कुनै पनि अस्पताललाई यो सेवा नदिंदा आर्थिक अभावमा धेरै उपचारबाट बञ्चित भएको उहाँको भनाई छ ।
यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये २० जना बालबालिका हुने गरेका छन् ।
अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा. रेग्मी सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायु प्रदुषण, मानसिक तनावका कारण मुटु रोग हुने गरेको बताउनुहुन्छ । यस्ता विषयमा ध्यान दिन सक्ने हो भने ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्नु नपर्ने उहाँको भनाई छ ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बालबालिकादेखि बृद्धबृद्धासम्मको मुटुको सबै खालको उपचार हुने गरेको बताउनुभयो । विगतका दिनहरुमा यहाँबाट मुटुको उपचार गर्न राजधानी काठमाण्डौं जाने गरेकोमा अहिले काठमाण्डौं सहित देशका विभिन्न जिल्लाबाट मुटु उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो ।
सरकारले बालबालिका र जेष्ठ नागरिकलाई निःशुल्क मुटु उपचार कार्यक्रम आफूहरुले पाएमा धेरै बिरामी आर्थिक अभावमा उपचारबाट बञ्चित हुन नपर्ने प्रा.डा.न्यौपानेको भनाई छ । राजधानी काठमाण्डौंभन्दा सस्तो र उच्चस्तरको मुटु उपचार हुने भएकाले देशकै मुटु उपचारको केन्द्र बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।
यस अस्पतालमा दैनिक सरदर दुई सय जना मुटु रोग सम्बन्धी समस्या लिएर बिरामीहरु आउने गर्दछन् । ती मध्ये ५० जना कार्डियो भास्कुलर, २० जना बाल मुटुरोग र १३० जना हाराहारी मुटुरोग विभागमा आउने गर्दछन् । अस्पतालमा दैनिक १० देखि १२ जना बिरामी भर्ना हुने गर्दछन् ।
अस्पतालमा मुटुरोगको २० शैयाको आईसियू, सिटिभिएस वार्ड २० शैया र जनरल मुटु वार्ड १० शैयाको रहेको छ भने बालबालिकाका लागि पिआईसियु र एनआईसियू सेवा रहेका छन् ।
अस्पतालमा मुटुरोगको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् रु. एक लाख, विपन्न उपचार कोषबाट रु. एक लाख पाउँछन् भने सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभरि नै विभिन्न कार्यक्रम गरी मुटु दिवस मनाइँदै आइएको छ ।