चितवन। लगातारको वर्षाका कारण चितवनलाई राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरासँग जोड्ने मुख्य सडक नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग शनिबार ठाउँ ठाउँमा अवरूद्ध भएको छ ।
डिभिजन सडक कार्यालयले नारायणगढ मुग्लिन सडक दबेको हुँदा ठूला गाडी आरपार हुन नसक्ने जानकारी गराएको छ ।
नारायणगढदेखि २६ दशमलब तीन किलोमिटर पर मुग्लिन तर्फ सडक दबेको हो । दबेको ठाउँ पुरेर मर्मत गर्न सुरू भएको कार्यालयले जनाएको छ । त्यसैगरी मुग्लिन कटेपछि आउने पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरमा शनिबार बिहान चार बजे पहिरो खसेर बाटो पुर्णरूपमा अवरूद्ध भएको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसबाहेक पनि पृथ्वीराजमार्गको चितवन खण्डमा इच्छाकामना-३ को मौवा खोला, दति खोला र पानीधारामा पनि पहिरोले बाटो पूर्णरूपमा अवरूद्ध गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।