चितवन। नेपाल पत्रकार महासंघ चितवनको नवनिर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यले पदभार ग्रहण गरेका छन । हिजो (शुक्रबार) नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा एक कार्यक्रमकाबीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो ।
पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष राधेश्यम खतिवडाले नवनिर्वाचित अध्यक्ष नारायण अधिकारीलाई महासंघको ल्यापटप हस्तान्तरण गरेका थिए भने र निवर्तमान सचिव तीर्थ नेपालले माइन्युट नवनिर्वाचित सदस्य दिपेन्द्र अधिकारीलाई हस्तारण गरेका थिए । यस्तै नवनिर्वाचित केन्द्रीय परिषद र प्रदेश परिषद सदस्यहरुले पनि पदभार ग्रहण गरेका थिए ।सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले पत्रकारीतालाई दिगो राख्न मिडीया हाउसलाई बचाउनु पर्ने बताए । आगामी दिनमा पत्रकारका क्षमता अभिवृद्धि , तालिम लगायतका बिषयमा आफ्नो ध्यान केन्द्रीत हुने उनले बताए ।
सो अवसरमा बोल्दै नवनिर्वाचित उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले निर्वाचन लोकतान्त्रिक अभ्यास भएको भन्दै यस प्रक्रियामा कसैको हार नभई यो जीत सबै पत्रकारको जीत रहेको बताए । आगामी दिनमा पत्रकारका अन्य संगठनसंँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, नेपाल प्रेस युनियन का वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस चौतारी , चितवनका अध्यक्ष सुवास पण्डित , प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगायतले पत्रकारको हक हित र अधिकारका लागि महासंघ लड्नुपर्ने भन्दै नवनिर्वाचित सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका दिए ।