चितवन । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले महिला सहकारीहरुको नेतृत्व गरिरहेको एक संस्थाको कार्यालयमा मिटर जडानै नगरी महसुल असुलीको लागि विल पठाएको पाइएको छ ।
प्राधिकारणले रत्ननगर वडा नं १२ चिसापानी स्थित सामाजिक उद्यमी महिला सञ्जाल(सेवा नेपाल)को कार्यालयमा मिटर जडान नै नगरी महसुल असुलीको लागि विल काटेको हो ।
सो संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानको लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानको लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएको मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा जडान गरिदियो । प्राधिकरणले मिटर नै जडान नगरेको १० महिनाको महसुल र जरिवाना सहित संस्थामा विल पठाएको अध्यक्ष पार्वती न्यौपानेले बताइन् ।
साउन र भदौमा विद्युत उपभोग गरेवापतको पैसा ७ हजार ८०० रुपैया उठेको छ । गत बर्षको भदौ महिना देखिकै महसुल र जरीवाना गरी ६१ हजार ७६३ रुपैयाको विल प्राधिकारणले पठाएको अध्यक्ष न्यौपानेले बताइन् । प्रयोगै नगरेको विजुलीको पैसा हामीले कसरी तिर्नु उनले भनिन् यो प्राधिकरणको लापरबाही हो ।
अध्यक्ष न्यौपानेले पैसा बुझाएपछि मिटर जडानको लागि प्राधिकरणमा पटक पटक ताकेता गर्दा समेत बेवास्था गरेको बताइन् । अब हामी प्राधिकरण घेर्न जान्छौं उनले भनिन् हामीलाई प्राधिकरणले अन्याय ग¥यो । दुई महिना विद्युत उपभोग गरेको रकम बाहेक १० महिना विना मिटरको ५३ हजार ९६३ रुपैया के आधारमा तिर्नु प्राधिकरणलाई प्रश्न गर्दै अध्यक्ष न्यौपानेले भनिन् यो प्राधिकरणको ठगीखाने धन्दा भयो ।
टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीले मिटर जडानको लागि शुल्क तिरेर ग्राहक भएपछि प्राधिकरणको सिस्टम अनुुसार न्यूनतम महसुल लाग्ने बताए । सेवा नेपालको भवन पूर्ण रुपमा बनिनसकेका कारण मिटर जडान गर्न नसकिएको भन्दै उनले सेवा नेपाललाई अन्याय भएको स्विकार गरे । प्रमुख चौधरीले सेवा नेपालको विद्युत महसुलको विषयमा मध्यमार्गी बाटोको खोजी भइरहेको र केही राहत प्रदान गर्ने उनको भनाई छ ।