चितवन ।पुर्बी चितवनको बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप गर्ने क्रममा शुक्रवार देखि अनलाइनबाट टिकट लिन सक्ने कामको सुरुवात गरिएको छ ।
रत्ननगर नगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरेका हुन । सो अबसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा विरामीको चाँपलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए ।
अब घन्टौं लाइनमा बस्नुपर्ने अबस्थाको अन्त्य भएको छ उनले भने हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउदै छौं । अस्पतालका मेसु डा. बिश्वबन्धु बगालेले अस्पतालको वोएभ साइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं. लगायतको जानकारी भरेपछि टिकट इस्यु हुने जानकारी दिए । उनले बिमा मार्फत काटिएको टिकटको भने भेरिफाई अस्पतालमा आएर गर्नु पर्ने बताए ।
रत्ननगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं २ का वडा अध्यक्ष तिलक राज शर्मा, अस्पतालका निवर्तमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ, कार्यक्रममा अस्पताल विकास समितिका सदस्य ज्ञान वहादुर बिसुराल, कार्यपालिका सदस्य राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए ।