चितवन । विसं २०६२/०६३ सालको आन्दोलनमा राजधानी काठमाडौँका सडकमा मान्छेको हुलको बीचमा ठूलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बीचमा फहराएको ठूलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने थिए ।
राजतन्त्रको विरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौँ पुगेका थिए । त्यतिबेला मात्र होइन, विसं २०३६ सालयताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उनी अनवरत लागे ।
उनका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार विसं २०३६ सालमा बिपी कोइराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालीन सत्तापक्षले कार्यक्रम बिथोल्न साँडेलाई पेट्रोल छर्किएर छाड्दा साँडेले कुल्चिएर घाइते भएकी चन्द्र्रकान्तका आमा हरिमायाँको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा ल्याएका थिए ।
त्यसपछिका दिनहरुमा उनी अनवरतरुपमा नेपाली कांग्रेस र त्यसले संञ्चालन गरेका हरेक आन्दोलनमा अग्रपङ्क्तिमा देखिए । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भने, “मेरो बुबा हरेक आन्दोलनमा दैनिकजसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौँ ।”
घरमा प्रहरी गएर आमासहित आफूहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उनी बताउँछन् । चन्द्रकान्तका चार भाइ छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई विसं २०४६ सालको आन्दोलनमा बाबु ल्याइज् भन्दै १५ दिन हिरासतमा राखेको उनी सम्झन्छन् । त्यसो त विसं २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बसेका थिए । बुद्धिकान्तले भने, “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कति हिरासत बस्नुभयो गनिसाध्य छैन ।”
आन्दोलनमा अग्रपंङ्क्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उनी छुटे । विसं २०४६ सालको आन्दोलनमा उनको टाउको ल्याउनेलाई ५० रुपैयाँ हजार पुरस्कारसमेत राखिएको थियो । विसं १९९२ पुस २७ गते लमजुङको दूराडाँडाको देउतापानीमा जन्मिएका चन्द्रकान्त न्यौपाने विसं २०६९ साल भदौ २८ गते तत्कालीन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परी निधन भएको थियो ।
त्यसो त माइक्रोबसमा रहेका न्यौपानेले पछाडि सिटमा बस्ने बच्चासहितकी महिलालाई ठाउँ दिएर आफू पछिल्लो सिटमा बस्दा पछाडिबाट ट्रकले ठक्कर दिएर अन्तिम सिटमा बसेका उनको निधन भयो । उनै प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उनको निवास भरतपुर महानगरपालिका वडा नं–६ देवनगरमा नेपाली कांग्रेस वडा समितिले १२औं स्मृति सभा गरेर शुक्रबार सम्मान गर्दैछ । पार्टीका नेता डा. शशांक कोइरालाको उपस्थितिमा उनको सम्झना गर्न लागिएको हो ।