बैतडी । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध फेरि खोल्ने भएको छ । परियोजनाको बाँध भोलि दिउँसो १२ बजेदेखि पर्सि बेलुकासम्म खोल्न लागिएको हो । बाँध खोलेका बेला र त्यसपछि केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो ।
२०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको थियो ।