चितवन । पशु बाँझोपनको समस्या समाधान गर्न चितवनका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. र पशु सेवा कार्यालय चितवनको संयुक्त आयोजनामा गाई, भैँसीमा बाँझोपनको समस्या देखिएपछि प्राविधिक टोली ल्याई उपचार गरिएको छ ।
चितवनको रत्ननगरबाट यो अभियानको सुरुवात गरिएको भएतापनि सात वटै पालिकाहरुमा सञ्चालन हुने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. का अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
गाई, भैँसीमा बाँझोपनको समस्या देखिएका कारण अध्ययन गरी उपचारका थप विधि पत्ता लगाउने उनले बताए । यहाँका पशुमा पोषक तत्वको अभाव, आहारामा समस्या, भिटामिनको अपुग तथा जुका र अन्य परिजिवीका कारण बाँझोपन देखिएको उनको भनाई छ ।
समस्या देखिएका सबै पशु चौपायाको भिडियो एक्सरे प्रविधिबाट चेकजाँच भएको उनले बताए । गोठमा पुगेर निःशुल्क चेकजाँच र औषधी उपचार पाउँदा कृषक हर्षित भएका छन् ।
पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिदा बाझोपनको समस्या हुने गरेको पशु कार्यालय चितवनका वरिष्ठ पशु विकाश अधिकृत सुशिल के.सिले बताए ।
‘पशुहरुमा विभिन्न किसिमका यौनजन्य रोग हुनसक्छन् । यी रोगले बाझोपनको समस्या हुन्छ । यी रोगको उपचार गर्नुपर्छ’, के.सिले भने, ‘पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउने जस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।’
पशु विकाश अधिकृत के.सिले उन्नत पशुमा बढी बाझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताए । उनले किसानको लापरवाहीले गर्दा पशुमा बाँझोपनको समस्या रहेको बताए । पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधी नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको उनको सुझाव छ ।