इजरायलले लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी आक्रमण थालेको छ । इजरायलमा क्षेप्यास्त्र र रकेट प्रहार गर्दै आएको आरोपसहित सेनाले लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण थालेको जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता डेनियल हगारीले इजरायल तर्फ गोलाबारी गर्न हिजबुल्लाहले गरेको व्यापक तयारीको पहिचान गरेको दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ ।
इजरायल र हिजबुल्लाहबीच आक्रमण र तनाव थप बढेसँगै मध्यपूर्व नै जोखिममा फस्ने सम्भावना बढेको छ । इजरायलले लेबनानी नागरिकलाई पनि इरान समर्थित शिया मुस्लिम समूह हिजबुल्लाह सक्रिय रहेका क्षेत्र तत्काल छोड्न चेतावनी दिएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने तयारी गरेको बीबीसीले जनाएको छ । गएको जुलाईमा लेबनानको राजधानी बेरुतमा इजरायली हवाई आक्रमणमा शिया समूहका वरिष्ठ सैन्य कमाण्डर मारिएका थिए ।