दैलेख । गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ ।
गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको घाँटी रेटेर हत्या गरिएको हो । हत्यापछि प्रहरीले गए राति दुई शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक बिसीको हत्या गरेको आशङ्कामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन ।
“घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालयका प्रमुख अनुपराज श्रेष्ठले भन्नुभयो, “घटनापछि शङ्कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले सदरमुकाम पु¥याउँदैछ ।” प्रमुख श्रेष्ठका अनुसार ती व्यक्तिहरू शिक्षकको हत्या हुनुपूर्व सोमबार राति सँगै भएको खुलेको छ । “नियन्त्रणमा लिइएका व्यक्ति र हत्या गरिएका शिक्षक रातिसँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भन्नुभयो, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरुबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।” सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कँदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठले बताउनुभयो । “तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ”, श्रेष्ठले भन्नुभयो । शिक्षक बिसीको स्कुलको बरण्डामा घाँटी रटेर हत्या गरिएको अवस्थामा मङ्गलबार बिहान शव फेला परेको थियो ।
घटनालगत्तै प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।