चितवन । रत्ननगर उद्योग बाणिज्य संघले लोडसेडिङ र लो भोल्टेजले समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण गराएको छ ।
लोडसेडिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन समस्या भएको भन्दै संघले विद्युत प्रवाहमा विद्यमान समस्या तत्काल सामधान गरेर नियमित विजुली प्रदान गर्न प्राधिकरणलाई ध्यानर्कषण गराएको हो । संघका अध्यक्ष शंकर गिरीको नेतृत्वमा प्राधिकरण पुगेको टोलीले वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीलाई ध्यानर्कषण पत्र बुझाएका हुन् ।
पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत अनियमित तरिकाबाट कुनै पनि समयमा विद्युत जाने आउने भएको र सो क्षेत्रमा उद्योग कल कारखाना संचालनका लागि भोल्टेज पनि निकै कम भएको पत्रमा उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीहरुको लिखित गुनासो प्राप्त भएअनुसार अनियमित विद्युत पटक पटक काट्दा उद्योग संचालनमा कठिनाई भएको, विद्युत भोल्टेज अपर्याप्त भएको कारण उद्योग, कलकारखाना संचालन गर्न निकै कठिनाई भई उद्योग व्यवसाय विस्थापित हुने अवस्था आएको र घरायसी विद्युतीय उपकरणहरु विग्रिरहने हँुदा नियमित विद्युत प्रशारण र भोल्टेज सुधार गर्न आग्रह गर्दछौं ध्यानर्कषण पत्रमा भनिएको छ ।
संघका अध्यक्ष गिरीले विद्युत प्रसारण अनियमित हुँदा व्यवसाय सञ्चालनमा निकै कठिनाई भएपछि प्राधिकरणलाई सुधारको लागि ध्यानर्कषण गराइएको बताए । यसैबीच संघले शुक्रबार नै ईलाका ट्राफिक प्रहरी कार्यालय रत्ननगरका वरिष्ठ ट्राफिक प्रहरी प्रमुख विष्णु थापालाई स्वागत गरेको छ ।