चितवन। सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ । कलेजले १५ औं वार्षिकोत्सवको अवसरमा भोलि (शुक्रबार) विविध कार्यक्रम आयोजना गरेको हो ।
आज (बिहीबार) सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । शुक्रबार भरतपुर ओरालो स्थित कलेजको आफ्नै भवन सेन्ट्रल टावरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत बैशाखबाट कलेजले उक्त भवनबाट सेवा सुरु गरिसकेको छ । औपचारिक उद्घाटन भने शुक्रबार गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले बताउनुभयो ।
भोलि नै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिनेछ । सेन्ट्रल मोडल कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सोही कलेजको भोलि औपचारिक उद्घाटन गरिने पौडेलले बताउनुभयो ।
कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ । अर्को वर्ष मास्टर डिग्रीको कक्षा पनि सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो । यस्तै निकट भविष्यमा नै एकदेखि १२ सम्मको कक्षा पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
त्यस अघि भोलि बिहानैबाट अन्य विविध कार्यक्रम सुरु हुनेछन् । बिहान ७ बाट कार्यालय परिसरमा नै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । यस्तै चितवन नवलपुर र तनहुँका दुई सय भन्दा बढी फुटबल क्रिकेट तथा भलिवल क्लबहरुलाई खेल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।
उता चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आइडल विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काको प्रस्तुति रहनेछ । वार्षिक साधारण सभा, सेन्ट्रल कलेजसँग सम्बन्धित म्युजिक भिडियो र सामाजिक संघ संस्थाहरुलाई सम्मान लगयातका कार्यक्रम पनि हुने प्रिन्सिपल पौडेलले बताउनुभयो ।
कार्यक्रमहरु दिनैभर चल्नेछ । कलेजले समाजका हरेको क्षेत्र प्रतिको उत्तरदायित्व बहन गर्दै आएको पौडेलको भनाइ छ । भोलि हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई उहाँले आग्रह गर्नुभयो ।