दैलेख ।आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यले २०६४ देखि संचालन भएको रणनीतिक मार्गको ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली-मटेलाअन्तर्गतको भैरवस्थान-प्याडुल्ली सडकखण्डको विवाद सुल्झिएको छ ।
क्षेत्र नम्बर- २ का तीन नगरपालिका र दुई वटा गाउँपालिकाको विकासको मेरुदण्डका रूपमा हेरिएको यो सडक विवाद समाधान भएर सर्भेको काम पूरा भएको ठाटीकाँध- २ का वडा अध्यक्ष रूपलाल विश्वकर्माले बताए ।
२०६४ सालमा आठबिसबाट कामको सुरुवात भएको थियो । पहिलो वर्ष ७४ लाख रुपैयाँ बजेट विनियोजित थियो यसका लागि । त्यसपछि ट्र्याक खोल्ने काम हुँदै आएको थियो । ठाटीकाँध-भैरवस्थान-प्याडुल्ली-मटेला सडकखण्डमा ठाटीकाँध २ र १ वडाबीच विवाद भएपछि ट्र्याक खुल्न सकेको थिएन ।
पहिले ठाटीकाँध-पीपल चौतारा-प्याडुल्ली लैजाने भन्ने वडा २ का वडा अध्यक्ष रूपलाल विश्वकर्मा र गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको योजना र भैरवस्थान छुट्याएर प्याडुल्ली हुँदै ट्र्याक खोल्न नदिने भन्ने १ नम्बर वडाबासीले विवाद गर्दा विवादमै काम अड्किएको थियो । विवाद समाधानपछि अहिले ठाटीकाँध-भैरवस्थान-खातीगाउँ-प्याडुल्ली हुँदै मटेला जोड्ने सहमति भएको ठाटीकाँध गाउँपालिका- २ का वडा अध्यक्ष विश्वकर्माले बताए । ‘खातीगाउँ-प्याडुल्ली हुँदै मटेला जोड्ने सहमतिपश्चात् सर्भेको काम सकिएर डीपीआरसहितको माटो जाँचसमेत भइसकेको छ’, उनले भने ।
दैलेख क्षेत्र नं.- २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढाले सो सडकको अवधारणा २०६४ सालमा सभासद हुँदा ल्याएका थिए । त्यसबेला जिल्ला सदरमुकामदेखि सिधै पश्चिम क्षेत्रका सबै ठाउँलाई जोडेर सो क्षेत्रको आर्थिक विकास र प्रशासनिक सडकले टेवा पुर्याउने लक्ष्य थियो ।
ट्र्याक खोल्नै १४ वर्ष बित्यो
२०६४ सालमा आर्थिक विकास र प्रशासनिक क्षेत्रको सुधार गर्ने उद्देश्यसहित दैलेख सदरमुकाम-राकम कर्णाली जोड्ने छोटो मार्गको रूपमा काम अघि बढेको थियो । त्यसबेला क्षेत्रीय सडकको रूपमा अघि बढेको सडकको हालसम्म खण्डखण्डमा ट्र्याक खोल्ने र एकसरो कच्ची सडकमा सीमित छ ।
पहिलो वर्ष सडकले ७४ लाख रुपैयाँ पाएपछि राकम-तिलेपाटा आसपास क्षेत्रसम्म ट्र्याक खोलिएको थियो । त्यसबेलामा प्रतिनिधिसभा सांसद राजबहादुर बुढा सभासद् थिए । ट्र्याक खोल्ने कार्य अझै जारी छ ।
देश संघीय संरचनामा आइसक्यो तर उक्त सडकको स्तरोन्नति हुन सकिरहेको छैन । सडकमा पूर्ण रूपमा सानातिना गाडी चल्न सक्ने अवस्था पनि नभएको स्थानीय बताउँछन् ।
सुरुवातदेखि हालसम्मको अवधिमा चार पटक शीर्षक बदलिएको छ । २०६४-०७० सम्मको अवधिमा केन्द्रबाट दुई पटक सडकको शीर्षक नै हटाइएकको सांसद राजबहादुर बुढाले बताए । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सो क्षेत्रबाट लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए र सडकको शीर्षक परिर्वतन भएर प्रशासनिक मार्गको रूपमा समेटियो । अहिले तीनवटा नगरपालिका र दुईवटा गाउँपालिका जोड्ने रणनीतिक मार्गका रूपमा चिनिन्छ, जसमा नारायण नगरपालिका, भैरवी गाउँपालिका,चामुण्डाविन्द्राशैनी नगरपालिका ठाटीकाँध गाउँपालिका र आठबिस नगरपालिका गरी तीनवटा नगरपालिका र दुईवटा गाउँपालिका जोड्ने रणनीतिक मार्गका रूपमा चिनिन्छ ।
सडकले गति लिन नसक्नुको मुख्य कारण राज्यबाट बजेट उपेक्षित मात्रामा आउनु देखिएको छ । सडकमा कहिले एक, कहिले दुई करोड रुपैयाँ त कहिले केन्द्रबाट शीर्षक नै हटाउने गरिएकाले कामले गति लिन नसकेको सरोकारवालाको भनाइ छ । गत आर्थिक वर्ष २०७७/०७८ देखि यो सडकलाई ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ शीर्षकमा समेटिएको दैलेख क्षेत्र नं.- २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद बुढाले बताए ।
हालसम्म चामुण्डाविन्द्राशैनी नगरपालिकाअन्तर्गत पर्ने बुडेली-हाडाको-मटेलासम्मको नयाँ ट्र्याक खुलिसकेको छ ।
बुडेली मटेला ठाटीकाँधको सडक स्तरोन्नतिका लागि एक सांसद एक क्षेत्र नम्बरअन्तर्गत स्तरोन्नतिका लागि एक करोड २० लाख रुपैयाँ छुट्याइएको सडक डिभिजन कार्यालय सुर्खेका इन्जिनियर तुलाराम शर्माले बताए । सांसद विकास कोष कार्यक्रमअन्तर्गतको १७६ शीर्षकमा एक करोड २० लाख रुपैयाँ विनियोजित रकम छ ।