काठमाडौं। भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ। आइतबार भएको दोस्रो खेल भारतले डकवर्थ लुइसपद्धतिका आधारमा ७ विकेटले जितेको हो।
वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए।
यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे। श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए।
त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनायो। श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले। परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे।
ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए। भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए।
भारतले पहिलो टी–ट्वान्टी आईमा ४३ रनको जित निकालेको थियो। शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ। त्यसपछि यी दुई टोलीले तीन एक दिवसीय खेल खेल्नेछन्। गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो उपाधि हो।