चितवन । चितवनको कालिका नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका प्राधानाध्यापक र सह प्राधानाध्यापकहरुलाई मेडिटा टोइन एण्ड मोटिभेसन फर विलिसफुल लर्निङ्ग सम्बन्धि प्रशिक्षण दिएको छ ।
शैक्षिक गुणस्तर सुधार र पढाई प्रति विद्यार्थीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने उद्धेश्यले प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा मोटिभेसन कर्ता आचार्य महेन्द्र बशिष्ट र आचार्य बिबेक बिनयीले सहजिकरण गर्नुभएको थियो । नगरपालिका भित्र सञ्चालित समुदायिक तथा संस्थागत विद्यालयका प्राधानाध्यापक र सह प्राधानाध्यापकहरुले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकामा समुदायिक तर्फ मा.वि ८ वटा, आभारभूत तर्फ २७ वटा गरी ३५ वटा विद्यालय छन् भने संस्थागत तर्फ मा.वि ६ वटा, आभारभूत तर्फ ५ वटा गरी ११ वटा विद्यालय सञ्चालनमा छन् ।
सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिनोद रेग्मी रहनुभएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख रेग्मीले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस गर्नुपर्ने सुझाव दिनुभयो ।
‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई यथा स्थानमा रोक्ने वातावरण बन्न सकेन भने केही वर्ष पछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्’, उहाले भन्नुभयो, ‘तहअनुसार विद्यार्थीको क्षमता विकास हुन सकेको छैन । यिनै समस्या हल गर्ने प्रयास स्वरुप मोटिभेसन अन्तर्गत समुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार र पढाई प्रति विद्यार्थीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने मनसायले तालिम आयोजना सुरु गरिएको हो ।’
शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने नगर प्रमुख रेग्मीले बताए । यही वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रम ल्याइएको उहाको भनाईछ ।
उपप्रमुख बिमला तामाङले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने बताउनुभयो । विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडी बढाउने गरी कार्यक्रम ल्याइनेछ उहाको भनाईछ ।
सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, नगरका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, चर्तुमुखी मा.विका सह प्राधानाध्यापक पूर्ण वहादुर पुरी लगाएतले मन्तव्य राख्नुभएको थियो ।
नगरका शिक्षा शाखा प्रमुख गंगाधर रिमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यक्रम सञ्चालन शिक्षा शाखा अधिकृत चन्द्रा शर्माले गर्नुभएको थियो ।