काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच आज सोमबार दिउँसो छलफल हुँदैछ । सर्वोच्च अदालतले दिउँसो २ बजेका लागि बार-बेञ्च समन्वय समितिको बैठक आह्वान गरेको हो ।
सोमबारको बैठकमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनसक्ने ठानिएको छ । उक्त समितिले न्यायालयमा कायम विकृति हटाउन सिफारिस गरेको थियो ।
बार-बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ । समितिमा प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार छन् ।
समितिमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल र शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य पनि छन् । समितिमा महान्यायाधिवक्ताको पनि प्रतिनिधित्व रहन्छ ।