काठमाडौं । भारतको गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पदबाट राजीनामा दिएका छन् ।शनिबार दिउँसो उनले अचानक राजीनामा दिएका हुन् । उनको राजीनामाको कारण खुलेको छैन ।
यद्यपि, उनले सबै नेता–कार्यकर्तालाई समान अवसर दिने भाजपाको नीतिअनुसार आफूले राजीनामा दिएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय जनता पार्टी (भाजपा)का नेता हुन् ।
राजीनामा दिएपछि उनले आफूले गुजरातको विकासमा योगदान गर्न पाएको बताए । साथै, उनले मुख्यमन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि दिए ।
उनले विधानसभाको चुनाव आउन १५ महिनाअघि राजीनामा दिएका हुन् ।
उनले पहिलोपटक सन् २०१६ अगस्ट ७ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । पछि २०१७ मा भएको विधानसभा चुनावमा भाजपाले बहुमत ल्याएपछि उनकै नेतृत्वमा सरकार बनेको थियो । त्यति बेला भाजपाले १८२ मध्ये ९९ सिट जितेको थियो ।
उनले २०१७ को डिसेम्बर २६ मा दोस्रोपटक मुख्यमन्त्रीको शपथ लिएका थिए ।