चितवन । माडीको गंगटे खोलामा अचानक आएको भलबाढीले बगाएको मोटरसाइकल करीब २.५ किलोमिटर तल बालुवामा गाडिएको अवस्थामा तीन दिन पछि भेटिएको छ ।
गत शनिबार बिहान ७ः३० बजे माडी-२ निवासी मिलन पौडेलको बा.प्र. ०६-०२ प. ८१७ नम्बरको मोटरसाइकल गंगटे खोलामा अचानक आएको भलबाढीले बगाएको थियो । बाढीले बगाएको मोटरसाइकल करीब २.५ किलोमिटर तल एक खाडलमा बालुवाले पुरिएको अवस्थामा भेटिएको मोटरसाइकल धनी पौडेलले बताउनुभयो ।
धान रोप्न खेताला बोलाउन खोला तर्न लाग्दा सो खहरे खोलाभित्र खाडलमा परेको मोटरसाइकल निकाल्ने प्रयास गर्दैगर्दा एकैछिन मात्रै आएको ठूलो भलबाढीले मोटरसाइकल बगाएको थियो । पछि सशस्त्र र जनपद प्रहरीसहित स्थानीय युवाहरुको समूहले खोजी गर्दै जाँदा बाढीको कटानले बनाएको खाडलभित्र बालुवाले पुरेको र लुकिङ ग्लासमात्रै बाहिर देखिएको अवस्थामा मोटरसाइकल भेटिएको हो ।