चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा पार्टी एकता गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ ।
भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उहाले पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिने बताउनुभयो ।
उहाले धेरै उत्साहित हुँदा यसअघि दुर्घटना भएको पनि स्मरण गर्नुभयो ।
‘हामी तत्काल र हतारमा पार्टी एकता वा वामपन्थी एकता गर्ने पक्षमा छैनौँ’ उहाले भन्नुभयो , ‘धेरै राम्रो उत्साह आएर पनि विगतमा दुर्घटना भयो, त्यसकारण वाम एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छ।’
राम्रो सहकार्य गरेर जाँदा जनताले देख्नेगरी काम गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाले सतर्कताका साथ आफूहरू अघि बढेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताउनुभयो।
चितवनका केरा किसानलाई बिमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्ने बताउनुभयो।