चितवन। बहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा हिमालयन–कालिञ्चोक–बीबीआर जेभीले पाएको छ। प्रतिस्पर्धाबाट यो कम्पनीलाई निर्माण कार्यका लागि छनोट गरिएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी गराएकी छिन्।
उनका अनुसार, अबको एक हप्ताभित्र उक्त कम्पनीसँग महानगरले निर्माण सम्झौता हुनेछ। ‘सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य महानगरले लिएको छ,’ मेयर दाहालले भनिन्।
६८ करोड दुई लाख चौसठ्ठी हजार दुई सय सात रुपैयाँ लागतमा सो कम्पनीलाई रंगशाला निर्माणको जिम्मेवारी दिइएको हो। यसअघि गत २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको थियो।
लगत्तै भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान गरिएको थियो।
गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए।
संघीय सरकारले पनि यसलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो।
विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १६ करोड बढी ऋण देखाउँदै बीचमा नै रंगशाला निर्माणबाट हात झिक्यो।
सहयोग दाताहरूबाट दिने भनेको रकम नउठेको भन्दै फाउन्डेसनले २०७८ साउनदेखि निर्माणको काम रोक्यो। मैदानमा ५७ करोड ९२ लाख ५ हजार ७३ खर्च भएको फाउन्डेसनले जनाएको छ।