चितवन । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ९९ करोड ६० लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । १३औँ नगरसभामा नगरप्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट पेश गरेका हुन् ।
प्रक्षेपित बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरण तथा राजश्व बाँडफाँडबाट ६१ करोड १३ लाख ९२ हजार रुपैयाँ अनुमान गरिएको छ। जस अन्तर्गत समानीकरणतर्फ १२ करोड १३ लाख रुपैया, सशर्त अनुदानतर्फ ३३ करोड ४६ लाख ९२ हजार, समपूरक अनुदानतर्फ १ करोड १० लाख, विशेष अनुदानतर्फ २ करोड ३५ लाख रुपैया तथा राजश्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि कर ७ करोड ९९ लाख २६ हजार १०९ रुपैयाँ, अन्तः शुल्क २ करोड ९० लाख ३० हजार २०९ रुपैयाँ र वन रोयल्टीतर्फ १ करोड १९ लाख ४३ हजार ६८२ रुपैयाँ अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरण र राजश्व बाँडफाँडबाट २२ करोड ३ लाख ६२ हजार सय आम्दानी हुने अनुमान गरिएको छ । जस अन्तर्गत समानीकरण अनुदानतर्फ १ करोड २३ लाख १६ हजार, सशर्त अनुदानतर्फ ३ करोड ७३ लाख ४३ हजार, समपूरक अनुदानतर्फ ३ करोड, विशेष अनुदानतर्फ ६५ लाख र राजश्व बाँडफाँड अन्तर्गत सवारी साधन करतर्फ ७ करोड ४२ लाख ३ हजार तथा घर जग्गा रजिष्ट्रेशन वापत् मालपोतबाट प्राप्त हुने राजश्व ६ करोड अनुमान गरिएको छ । नगरको आन्तरिक आय १६ करोड ४२ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ ।
वडास्तरीय योजनाका लागि वडा नं १ लाई ९० लाख, वडा नं २, ३, ६, ७ लाई प्रति वडा ८० लाख, वडा नं ४, ५ र ८ लाई प्रति वडा ७० लाख र वडा नं ९ लाई एक करोड २५ लाख गरी कुल नौ वटा वडालाई ७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षामा २८ करोड १४ लाख, प्रतिलिटर दूधमा चार रुपैयाँ अनुदानका लागि ६१ लाख ८१ हजार, तमु चोकदेखि पुष्पमदन बाटिकासम्मको सडक कालोपत्रेलाई एकमुष्ट दुई करोड २० लाख, स्वास्थ्य क्षेत्रमा ९ करोड ३१ लाख ४७ हजार र प्रशासनिक सुधार तथा कार्यालय व्यवस्थापनका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख महतोले कृषिलाई उच्च प्राथमिकता दिइएको बताइन् । पर्यटन प्रबद्र्धनको लागि सिमरा–सौराहा परियोजना (सिसौ परियोजना) सञ्चालन गरिने उनले बताइन् । सिमरा गाउँलाई थारु ग्राम विशेष पर्यटकिय क्षेत्र घोषणा गरिनेछ ।
त्यस्तै, आवश्यक कार्यविधि तयार गरी ‘दुःखमा मेयर कार्यक्रम’ र ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने उनले बताइन् । करको दायरमा नआएका उद्योग व्यवसाय आगामी पुष मसान्तभित्र दर्ता हुन आएमा चालु आव २०८०/८१ भन्दा अघिको बक्यौता रकम र जरिवाना मिनाहा गर्ने नीति नगरपालिकाले लिएको छ ।