चितवन। चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुवातामा जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग आगामी आर्थिक वर्षमा नफैलियोस भन्ने हेतुले आईतबारदेखि अभियाननै गरेर लम्पी स्किन विरुद्धको खोप लागाउन सुरु गरिएको हो ।
कालिका नगरपालिकाका पशु सेवा शाखा अधिकृत इश्वरी प्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाई भैंसी लगायतका ६ हजार पशुहरुलाई खोप लगाइने छ । चालु आर्थिक वर्षको सुरुवात साउन २५ देखि भदौ १५गते सम्मपनि यी पशुहरुलाई खोप लगाइएको थियो । कालिकमा केही महिना अगाडी ५ हजार ८ सय पशुहरुलाइ खोरेत बिरुद्घको खोप र बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइसकिएको छ ।
कालिकामा किसानहरुको गोठगोठमै पुगेर अन्य समयमा पनि पशुहरुको अवस्था बारे जानकारी लिँदै आएको पौडेलले बताउनुभयो । अहिलेपनि लम्पी स्किन विरुद्धको खोप अभियान किसानका गोठगोठ पुगेर पालिकाका ११ वटै वडाहरुमा एकै साथ सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिक सहित २ हजार ५ सय डोज खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिकहरु नगरपालिका मार्फत नै व्यववस्थापन गरिएको छ ।
अभियानमा पालिका भित्र रहेका दुग्ध उत्पादक सहकारीहरुको साथ र सहयोग रहेको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “अभियानमा हाम्रो तर्फबाट १२ जना प्राविधिक हुनुहुन्छ जहाँ सहकारी र स्थानीयहरुले समेत सहयोग गर्दा खोप अभियान गर्न सहज भएको छ । हामिले किसानको गोठमै पगेर खोप लगाउने हो ।” वडा कार्यलय र दुग्ध उत्पादक सहकारीहरुसँगको समन्वयमा अभियान थालिएको छ । एक सातामा अभियान सकिने उहाँको भनाई थियो ।
चालु आर्थिक वर्षको सुरुमा कालिकामा लम्पी स्किन रोगबाट १५ वटा पशु मरेका थिए । कुल पशुको सात प्रतिशतमा यसको ंसंक्रमण भएकोे थियो । उहाँले भन्नुभयो, “गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिइएन । खोप लगाएपछि संक्रमण ठप्पै भएको थियो ” यसपालि बेलैमा लम्पी स्किन विरुद्धको खोप लगाउँदा शंक्रमण नफैलने पौडेलले विश्वास व्यक्त गर्नुभयो ।