काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।
किङ्सटाउनमा सोमबार बिहान जितका लागि बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछयाएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लले २७ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले २५ र ओपनर आशिफ शेखले १७ रन बनाउनुभयो । अन्य ब्याटसम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशका तानजिम हसन सकिवले चार विकेट लिनुभयो । मुस्ताफिजुर रहमानले तीन, सकिव अल हसनले दुई तथाा तास्किन अहमेदले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । बङ्गलादेशका लागि सकिव अल हसनले १७ रन बनाउनुभयो ।
यस्तै महमुदुल्लाह र रिसद हुसेनले १३/१३ तथा तास्किन अहमेद र जाकेर अलीले १२/१२ तथा लिटन दासले १० रन बनाउनुभयो । ओपनर तानजित हसन सोमपालको पहिलो बलमै आउट हुनुभयो । अन्य ब्याट्सम्यानले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्नुभएको छ । उहाँले चार ओभरमा १७ रन खर्चिएर विकेट लिनुभएको हो ।
यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका एक खेल अगावै सुपर आठमा पुगेको थियो ।
नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
नेपाल अमेरिकाको डालासमा भएको विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्लोरिडामा तय भएको नेपाल र श्रीङ्काबिचको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।