झापा । झापामा आज एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–३ भोटेपुलमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय सुजन बेस्राकी २५ वर्षीया श्रीमती अञ्जली बेस्रा, उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र दुई वर्षका आयुष बेस्रा घरमै मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार अञ्जली झुन्डिएको अवस्थामा फेला परेकी छिन् भने छोराहरू खाटमा मृत अवस्थामा फेला परेका हुन् ।
आफ्ना दुई छोरालाई विष खुवाएर हत्या गरेपछि आमा अञ्जलीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
श्रीमान् सुजन बेस्रा वैदेशिक रोजगारीका लागि कतारमा छन् । शवको प्रकृति हेर्दा घटना बिहीबार साँझको जस्तो भएको स्थानीयवासीले बताएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।