चितवन । विद्यालयस्तरमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था सहित माडी नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगर घोषणा भएको छ । नगरप्रमुख ताराकाजी महतोको अध्यक्षता र बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति ठाकुर ढकालको प्रमुख आतिथ्यमा शुक्रबार बिहान माडी नगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषित पालिका घोषित भएको हो ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालयको सहयोगमा माडी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको नगर शिक्षा प्रमुख सुनिता खतिवडाले बताउनुभयो । घोषणाअघि “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चतत” भन्ने नारासहित गत बैशाख पहिलो साताबाट नगर क्षेत्रभर नयाँ विद्यार्थी भर्ना अभियान चलेको थियो ।
त्यस अभियानका क्रममा विद्यालय उमेरका (नयाँ) थप ६२ जना बालबालिका फेला पारी स्कुल भर्ना गरिएको शिक्षा शाखाप्रमुख खतिवडाले जनाउनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालय बाहिर रही नयाँ भर्ना भएका बालबालिकाहरुलाई पोशाक, स्टेशनरी र अन्य सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माडीका राजनैतिक दलका प्रतिनिधिहरुले निःशुल्क घोषणा गरेर मात्रै नहुने बल्की त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । हाल माडीका सामुदायिक विद्यालयहरुले एक वा अर्को शीर्षकमा शुल्क उठाउने गरेको देखिएकोमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै त्यसरी शुल्क उठाउन बन्द भएको हुनुपर्ने उनीहरुको भनाई थियो ।
चालू आ.व.मा बागमती प्रदेश अन्तरगत चितवनको खैरहनी र माडी नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सञ्चालनमा रहेको छ । यसका लागि प्रदेश सरकारले प्रतिपालिका ५० लाख रुपैंया बजेट पठाएको जनाएको छ ।