चितवन। जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि चितवन सहकारी सम्मेलनको आयोजना गर्ने तयारी गरिएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा यही जेठ २५ र २६ गते सम्मेलनको आयोजना गर्न लागेको हो ।
संघले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सहकारीका सदस्यहरुको वचतको संरक्षण र संस्थाको स्थायीत्व एबं बिकासका लागि कार्यक्रम गर्न लागिएको जनाएको हो । संघकी अध्यक्ष बिद्या कोइरालाका अनुसार यस संघमा आबद्ध २०५ वटा सहकारीबाट अध्यक्ष र व्यवस्थापक गरी चार सय हाराहारीको सहभागीतामा सम्मेलन गर्न लागिएको हो ।
पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्याका कारण वचतकर्ताको बचत असुरक्षित बन्दै जाँनुमा जिल्लालाई नै कार्यक्षेत्र वनाएर खोलीएका सहकारीबाट नभई बाहिरी जिल्लामा प्रधान कार्यालय भएका सहकारीको रहेको उहाँले बताउनुभयो । यही मुख्य कार्यालय रहेका केही सहकारीहरुमा समस्या देखिएको भए पनि ती समस्या समाधान हुँदै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामानै प्रधान कार्यालय रहेका तीन / चारवटा सहकारीमा समस्या देखिएको भए पनि ती समस्या समाधान हुने चरणमा रहेको छ ।” सुरक्षित लगानी नभएका तीन वटा सहकारीमा समस्या आउने देखिएको उहाँले बताउनुभयो । यो सम्मेलनले ऋण अशुलीका लागि स्थानिय तहलाई समेत झकझक्याउन मद्धत पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
सात वर्ष पछि सम्मेलनको आयोजना गरिएको बताउँदै संघका सल्लाहाकार तेजेन्द्र वहादुर खड्काले सहकारीलाई गुणस्तरीय वनाउन यो कार्यक्रम गर्न लागिएको बताउनुभयो । मनोमानी तरीकाले सञ्चालन गरिएका सहकारीहरुमा ऋण अशुलीमा समस्या देखिने गरेको उहाँको भनाई थियो । जिल्लाका सहकारीहरुको बिगत, वर्तमान र भावी कार्यदिशामा एकरुपतामा ऐक्यवद्धताकोे बिकास गर्न, सहकारीहरुको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र बित्तिय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो ।
संघका सचिब सुदिप रेग्मीले सम्मेलनमा सहकारीका बिभिन्न बिषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । दुई दिन सम्म चल्ने सो कार्यक्रमले वित्तिय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरुको समेत खोजी गरीने बताउनुभयो ।