चितवन। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्को अवरोध चाँडै हट्ने बताएका छन् । एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।
“कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ,” उपाध्यक्ष पौडेलले भने ।
वि.सं. २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए । “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,” उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए ।
एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेका बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।
“नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ,” उनले भने ।