चितवन। भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको दोस्रो चरणको खेलहरु सम्पन्न भएका छन् । आइतवार दोस्रो चरणका अन्तिम तीन खेल सम्पन्न भएका हुन् ।
शारदानगरमा भएको समूह डि को खेलमा होली भिजन ईंग्लिस बोर्डिङ स्कुल पराजित भएको छ । जनज्योति माविले होली भिजनलाई १-० ले पराजित गरेको छ । जनज्योतिलाई जिताउन खेलको ५७ औं मिनेटमा वुद्धबहादुर गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि जनज्योति ६ अंकसहित समूह डि को दोस्रो स्थानमा यथावत छ । होली भिजन भने समान खेलबाट अंकबिहिन छ । यो समूहमा नारायणी नमूना मवि ६ अंकसहित शिर्ष स्थानमा छ ।
उता कृष्णपुरमा भएको समूह ई को खेलमा दुर्गा शेषकान्त माविले ब्राइट स्टार ईंग्लिस बोर्डिङविरुद्ध सानदार जित निकालेको छ । खेलमा दुर्गा शेषकान्त मावि ५-० ले विजयी भएको हो । उसको जितमा युवराज मगर र सुरज गुरुङ समान दुई-दुई तथा असिम परियारले एक गोल गरे । दुर्गा शेषकान्तका युवराज मगर म्यान अफ दि म्याच भए ।
यो जितपछि तालिकाको दोस्रो स्थानमा रहेको दुर्गा शेषकान्तको दुई खेलबाट चार अंक भएको छ । ब्राइट स्टार भने अंकबिहिन रहदै तालिकाको पुछारमा छ । यो समूहमा अमर मावि दुई खेलबाट ६ अंकसहित शिर्ष स्थानमा छ भने वाल्मिकी शिक्षा सदन एक अंकसहित तेस्रो स्थानमा छ ।
पटिहानीमा भएको खेलमा हिमालय दण्डपाणि न्यौपाने माविले फराकिलो जित हात पारेको छ । उसले अंकुरम एकेडेमीविरुद्ध ७-० को फराकिलो जित निकालेको हो । हिमालय दण्डपाणिलाई जिताउन कृष्ण गिरीले ह्याट्रिक गरे । यस्तै राहुल मगर, निर्मल विक र पवन सुनारले एक-एक गोल गरे । उसले एक उपहार गोल पायो ।
कृष्णले खेलको आठौं, ११ औं र ३१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । राहुलले १३ औं, निर्मलले २७ औं र पवनले ४१ औं मिनेटमा गोल थपे । अंकुरमका अनिश सुवेदीले आत्मघाती गोल गरे । ह्याट्रिक गरेका कृष्ण म्यान अफ दि म्याच भए ।
जो जितपछि हिमालय दण्डपाणि मावि समूह एफ को शिर्ष स्थानमा उक्लिएको छ । उसको दुई खेलमा चार अंक भएको छ । समान अंक भए पनि किरण अमरजंग मावि गोल आधारमा दोस्रो स्थानमा झरेको छ । यो समूहमा ग्रामोदय दुई अंकसहित तेस्रो स्थानमा छ भने अंकबिहिन अंकुरम पुछारमा छ ।
लिगमा सोमबारबाट तेस्रो चरणका खेलहरु सुरु हुनेछन् । पटिहानीमा समूह ए का ओम शान्ति एकेडेमी र ढड्डाघारी मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह बी का पारिजात ईंग्लिस बोर्डिङ र ग्रीनल्याण्ड पब्लिक स्कुल तथा कृष्णपुरमा समूह सी का ईडेन गार्डेन ईंग्लिस बोर्डिङ र जनप्रिय ईंग्लिस बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ ।